समाज

सिन्धुपाल्चोकका मतदान केन्द्रमा दुई घेराको सुरक्षा

स्थानीय तहको निर्वाचनमा सुरक्षा दिन खटाइएको कार्यक्षेत्रतर्फ हिँडेका म्यादी प्रहरी।

सिन्धुपाल्चोकका मतदान केन्द्रमा दुई घेराको पहरासहित एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ। मतदान केन्द्रमा नेपाल प्रहरी र म्यादी प्रहरीले प्रत्यक्ष सुरक्षा दिनेछन् भने मदतानस्थल नजिकै बाहिरी घेरामा रहेर सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा दिनेछन्।

‘दुई घेराको सुरक्षा नीति अघि सारेका छौँ। मतदानस्थलको संवेदनशीलता हेरेर बाहिरी घेराबाट सशस्त्र वा सेना वा दुवै सम्मिलित संयुक्त टोलीले सुरक्षा दिनेछ,’ प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले नागरिकसँग भने। उनले मतदान केन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा बाँडेर सुरक्षा रणनीति अघि सारिएको जानकारी दिए।

जिल्ला सुरक्षा समितिका प्रमुखसमेत रहेका खनालका अनुसार तीन केन्द्रलाई अति संशेदनशील र ५९ लाई संवेदनशील मानिएको छ। सामान्य अवस्थाका मानिएका केन्द्र ८२ छन्। जिल्लामा १ सय ४४ केन्द्र तोकिएका छन्। केन्द्रको अवस्था हेरी प्रहरी र म्यादीसमेत आठदेखि २२ जनासम्म सुरक्षाकर्मी परिचालित हुनेछन्।

संवेदनशीलमा १५ र अतिसंवेदनशीलमा २२ सुरक्षाकर्मी खटिने प्रजिअ खनालले जानकारी दिए। ‘अतिसंवेदनशील र संवेदनशील मानिएका केन्द्रको तीन सय मिटरभन्दा बाहिरै बसेर हतियारसहितका सशस्त्र र सेनाले सुरक्षा दिने छन्,’ उनले भने। सामान्य अवस्थाका केन्द्रमा पनि गस्तिका रुपमा सशस्त्र र सेनाले सुरक्षा प्रदान गरिरहेका हुनेछन्।

मतदानको दिन सबै केन्द्रमा नेपाल प्रहरी, म्यादी, सशस्त्र प्रहरी र सेना गरी ३ हजार ३ सय ५० सुरक्षाकर्मी प्रत्यक्ष परिचालन हुने सुरक्षा समितिले जनाएको छ। यो बाहेक बजार र राजमार्ग क्षेत्रमा सुरक्षाकर्मीको नियमित मोबाइल, गस्ति टोली परिचालन हुने प्रजिअ खनालले जनाए। ‘कुनै अप्रिय घटना हुन नदिन संवेदनशील र सचेत छौँ। त्यसै भएर सुरक्षा व्यवस्था चुस्त बनाउने नीति अघि सारेका छौँ,’ उनले भने।

प्रकाशित: २८ वैशाख २०७९ १३:०६ बुधबार

सिन्धुपाल्चोकका मतदान केन्द्र एकीकृत सुरक्षा योजना कार्यान्वयन नेपाल प्रहरी र म्यादी प्रहरी