समाज

मतगणना स्थलमा मदिरा सेवन गरे-नगरेको परीक्षण हुने

दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले मदिरा सेवन गरेको जाँच गर्ने मेशिन प्रहरी प्रमुखलाई हस्तान्तरण गर्दै। तस्बिरः गोविन्द केसी/नागरिक

दैलेखका ११ स्थानीय तहमा हुने मतगणना स्थलमा मदिरा सेवन गरे/नगरेको अनिवार्य परीक्षण गर्न मेशिन राखिने भएको छ। गतगणनास्थलभित्र छिर्ने प्रहरीदेखि मत गणक, एजेण्ट लगायत सबैलाई मदिरा सेवन गरे/नगरेको परीक्षण अनिर्वाय गरिने भएको हो।

बुधबार दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले प्रहरी प्रमुख भुवनेश्वर साहलाई मदिरा सेवन गरेको जाँच गर्ने मेशिन हस्तान्तरण गरेका छन्। चुनावसम्म प्रहरीको मोबाइल टोलीले जिल्लाका ११ वटै स्थानमा चेकजाँच गर्ने र मतदानपछि मतगणनास्थल छिर्ने सबैमा अनिवार्य रुपमा जाँच गर्ने दैलेख प्रहरीले जनाएको छ।

‘मतगणना स्थलमा जो सुकै होस् मदिरा सेवन गरे\नगरेको जाँचपछि मात्र भित्र छिर्ने व्यवस्था गरेका छौं।’ दैलेखका प्रहरी प्रमुख (डिएसपी) भुवनेश्वर साहले भने, मदिरा सेवन गरेको पाए जो सुकै होस् प्रवेश निषेध गर्न निर्देशन दिएका छौं।’ ४० हजारका देखि १ लाख २० हजारसम्मका मेसिनहरु ल्याइएको छ।

प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले स्थानीय तहसंगको सहकार्यमा मेसिनहरु पालिकाले नै किनेर हस्तान्तरण गरेको डिएसपी साहले बताए। शान्ति सुरक्षाका लागि श्रोतसाधनले प्रहरीलाई भरिपूर्ण गराउनुपर्ने प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए। मतगणना स्थलमा सिसि क्यामरा पनि जडान गरिएको छ। दैलेखका प्रहरीहरु मतदान स्थलमा पुगिसकेका छन्। निर्वाचनका लागि सम्पूर्ण तयारी भइसकेको जनाइएको छ।

प्रकाशित: २८ वैशाख २०७९ ११:४३ बुधबार

स्थानीय तह दैलेखका प्रमुख जिल्ला दैलेख प्रहरी प्रमुख