समाज

मताधिकारको उपयोग गर्न आह्वान

सुशील कोइराला मेमोरियल फाउन्डेसनले संविधानप्रदत्त मतदानको अधिकारको सदुपयोग गरी मुलुकमा शान्ति, समृद्धि र लोकतन्त्रको स्थायित्वका लागि आ–आफ्नो ठाउँबाट ऐतिहासिक भूमिका निर्वाह गर्न आह्वान गरेको छ।

संविधानसभाबाट जारी नेपालको संविधान २०७२ अनुसार हुन लागेको दोस्रो स्थानीय तहको निर्वाचनमा सहभागी भई वडा एवं टोल तहसम्म लोकतान्त्रिक अभ्यासमा जुट्न पनि फाउन्डेसनले आम जनसमुदायमा अनुरोध गरेको हो। 

दोस्रो संविधानसभा निर्वाचनपछि सुशील कोइरालाको नेतृत्वमा बनेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई सबैले स्वीकार गरी पूर्णरुपमा कार्यान्वयनमा अघि बढिसकेको फाउन्डेसनले उल्लेख गरेको छ।

फाउन्डेसनका सदस्य सचिव अतुल कोइरालाले आज जारी गरेको विज्ञप्तिमा निर्भिक भएर आफ्नो मतदानको अधिकारको उपयोग गर्न अनुरोध गरेका छन्। जनताको घर आँगनमा विकासको लहर एवं सार्वजनिक सेवा प्रवाह गर्ने स्थानीय सरकारको नेतृत्व छान्ने अवसरलाई नगुमाई सभ्य एवं सुसंस्कृत अभ्यासका आधारमा प्रतिस्पर्धा गर्न पनि फाउन्डेसनले सबैको ध्यानाकर्षण गराएको छ।

प्रकाशित: २८ वैशाख २०७९ ०६:०० बुधबार