मंगलबार बिहान पक्राउ गरिएका नेकपा माओवादी केन्द्र त्रिवेणी गाउँपालिका रुकुम पश्चिमका अध्यक्ष गणेशबहादुर खड्कालाई प्रहरीले मंगलबार बेलुका नै छोडिदिएको छ। गाउँपालिकाको वडा नम्वर ९ स्थित नुवाकोट प्रहरी चौकी माओवादी कार्यकर्ताले तोडफोड गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो।
नेपाली काँग्रेसका कार्यकर्तासँग झपड भएको र काँग्रेसका कार्यकर्ताहरु ज्यान जोगाउन प्रहरी चौकी पुगेको बेला खड्का लगायतका माओवादी कार्यकर्ताले प्रहरी चौकी नै तोडफोड गरेर काँग्रेस कार्यकर्ता कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
आफ्नै प्रहरी चौकी तोडफोड गरेको आरोप लागेका खड्कालाई सामान्य सोधपुछ पछि प्रहरीले जमानीमा छोडेको थियो। माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोकाको जिम्मामा खड्कालाई छोडिएको हो।
‘प्रहरी चौकी तोडफोडमा उहाँको उपस्थिती भएको हामिले थाहा पाएकाले सोधपुछका लागि बोलाएको हौं। पक्राउ गरिएको हैन।’ रुकुम पश्चिम प्रहरी प्रवक्ता राजिब श्रेष्ठले भने, ‘अनुसन्धान जारि छ। उहाँलाई बोलाएको बेला आउने गरि छोडेका हौं।’ स्थानीयहरुका अनुसार प्रहरी चौकी तोडफोड र कांग्रेस कार्यकर्ता आक्रमणमा खड्काको प्रत्यक्ष संलग्नता रहेको थियो।
प्रकाशित: २८ वैशाख २०७९ ०५:४१ बुधबार