समाज

मतगणनास्थलमा तारजालीसहित सिसी क्यामेरा जडान

मुख्य निर्वाचन अधिकृतको कार्यालय ताप्लेजुङमा तयार भएको मतगणनास्थल। यहाँ फुङ्लिङ नगरपालिकाको मतगणना गरिने छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय ताप्लेजुङले फुङलिङ नगरपालिकाको मतगणनाका लागि तारबार र सिसी क्यामेराबाट निगरानी गर्न सकिने गरी मतगणनास्थल तयार पारेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालत परिसरमा २ वटा मतगणनास्थल तयार भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत पुष्पराज बाँस्तोलाले जानकारी दिए।

दुवै मतगणस्थलमा मतगणनाका लागि ग्याबिन जालीले बारेर भित्रपट्टी मतगणक बस्ने प्रवन्ध गरिएको छ भने तारजारी बाहिर उम्मेदवारका प्रतिनिधि बस्न प्रवन्ध गरिएको छ। गणक प्रवेश गर्नेद्धार आसपास सुरक्षाकर्मीले पहरा दिनेछन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाभरका ९ स्थानीय तहका मतगणनास्थलमा तारजाली वा डोरीको घेराबेरा गरेर मतगणनास्थल सुरक्षित गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सबै मतगणनास्थलमा कम्तिमा दुई क्षेत्रमा राखिएका सिसी क्यामेराबाट निगरानी गरिने छ भने विद्युतको वैकल्पिक व्यवस्थाका लागि मतगणनास्थलमा कम्तिमा २–२ वटा चार्जेबल बत्ति (विद्युत् गएको बेला पनि बलिरहने बत्ति जडान गरिने छ। प्रत्येक पालिकाको केन्द्रमा मतगणना गर्ने तयारी भएको छ।

प्रकाशित: २७ वैशाख २०७९ ०९:२९ मंगलबार

मुख्य निर्वाचन अधिकृतको कार्यालय ताप्लेजुङ