समाज

ट्यांकरको ठक्करले एक युवकको मृत्यु

सर्लाहीमा ट्यांकरको ठक्करबाट एक युवकको मृत्यु भएको छ। पूर्व-पश्चिम राजमार्गमा ट्यांकरको ठक्करबाट गम्भीर घाइते भएका हरिवन नगरपालिका ४ का राम बहादुर थापाको सोमबार उपचारको क्रममा नै मृत्यु भएको हो।  

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.३ ०३–००१–ख–०१४५ नम्बरको ट्यांकरले हरिवन बजारस्थित पूर्व-पश्चिम राजमार्गमा थापालाई ठक्कर दिएको थियो। सोमबार बिहान साढे १० बजे ट्यांकरको ठक्करबाट गम्भिर घाइते भएका थापाको काठमाडौंमा उपचार गर्दागर्दै दिउँसो पौने ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।  

मृतक थापा गैर सरकारी क्षेत्रमा क्रियाशील समाजसेवी भएको स्थानीयको भनाइ छ। मृतक थापालाई ठक्कर दिने ट्यांकर प्रहरीको नियन्त्रणमा रहेको भए पनि चालक फरार भएको छ।

फरार चालकको खोजी भइरहेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एसपि प्रवीण पोखरेलले जानकारी गराएका छन्।

प्रकाशित: २६ वैशाख २०७९ १४:३४ सोमबार