समाज

होटलका कोठामा मतपत्र

मुख्य निर्वाचन कार्यालयबाट बुझेका असरल्ल मतपत्र। तस्बिर: नागरिक

रोल्पामा आएका मतपत्र लगायतका निर्वाचन सामाग्री असरल्ल परेका छन्। सुरक्षाका हिसाबले समेत अलि बढी संवेदनशील मानिएको यहाँ मतपत्र होटलका कोठा कोठामा छन्। मुख्य निर्वाचन कार्यालयले चुनावका लागि खटिने कर्मचारीलाई मतपत्र दिदै प्रमुख जिल्ला अधिकारीकोमा पठाएको थियो।

निर्वाचनमा खटिएका एक मतदान अधिकृतका अनुसार प्रमुख जिल्ला अधिकारीले कही बेर ब्रिफिङ गरेका थिए। ‘सिडिओसापले ब्रिफिङ गरेपछि निर्वाचन सामाग्री हामी आफैंले राख्न भन्नुभयो।’ उनले भने, ‘आजको रात सिडियो अफिसमा राखाैं सुरक्षित हुन्छ, भोलि जानेबेलामा हामी लिएर जान्छौं भन्दा पनि मानिएन।’

अर्का एक कर्मचारीका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षाको कुरा उठाउँदा नियुक्ति, पैसा र सामाग्री लिएर सिडियोकोमा जान भनिएको थियो। निर्वाचन जस्तो संवेदनशील बिषयमा मुख्य निर्बाचन अधिकृत र प्रसासकबीच समन्वय गतिलो नहँुदा सुरक्षा जोखिम बढेको एक सुरक्षा अधिकारीले बताए।

अन्य सामाग्री भन्दा पनि मतपत्रको सुरक्षाको त्रासले कर्मचारीलाई असजिलो बनाएको छ। राति होटलमा बास बसेर भोलि उज्यालो भएपछि प्रहरीको स्कटिङमा गाउँ पठाईने भनिएका सामाग्री कम्तीमा एकरात सुरक्षित राखिदिएको भए हुन्थ्यो भन्ने कर्मचारीको माग रहेको छ।

प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाले मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन सामाग्री मतदान अधिकृतको जिम्मा लगाएको हो। ‘अरुले बुझेको सामाग्री हामीले जिम्मामा राख्ने कुरा भएन। मुख्य निर्वाचन अधिकृतले आफ्नो काम सकाउनलाई नियुक्ति, पैसा र सामाग्री जिम्मा लगाए पछि के के नमिले जस्तो भएको हो।’ प्रमुख जिल्ला अधिकारी सापकोटाले सुरक्षा व्यवस्था मिलाएको बताए। ‘मतपत्र राखिएको र निर्बाचन अधिकृतहरु बसेको होटलमा प्रहरी पठाउने व्यवस्था गर्नेछु।’ उनले सुरक्षामा समस्या नभएको समेत बताए।

प्रकाशित: २५ वैशाख २०७९ १२:३६ आइतबार

होटलका कोठामा मतपत्र