समाज

निर्वाचन आचारसंहिता विपरित राखिएका झन्डा ब्यानर हटाइयो

विपी राजमार्गस्थित सार्वजानिक पोलमा आचारसंहिता विपरित राखिएको झन्डा तथा निर्वाचन चिन्ह हटाउँदै सुरक्षाकर्मीहरु। तस्विर: अनिल/नागरिक

सिन्धुलीमा निर्वाचन आचारसंहिता कडाइका साथ लागु गर्न सुरु गरिएको छ। स्थानीय तहको निर्वाचन आउन केही दिन मात्रै बाँकी रहँदा मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहितालाई कडाईका साथ लागु गर्न थालेको हो।  

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजानिक स्थानमा राखिएको झन्डा ब्यानर हटाउन थालेको छ। सार्वजानिक तथा निजी सवारी साधनमा राखेको झन्डा तथा सार्वजानिक घर विद्युतको पोल लगायतका स्थानमा राखेको झन्डा हटाइएको छ।  मुख्य निर्वाचन अधिकृत धुब्रप्रसाद सापकोटा आफै बजार अनुगमनमा निस्किएर बजार क्षेत्रमा तथा विपी राजमार्गको दायाबाया दलहरुले राखिएको पार्टीका झन्डा तथा चुनाव चिन्ह हटाउन निर्देशन दिएका हुन्। 

निर्वाचन आचारसंहितामा सार्वजानिक ठाँउमा झन्डा पोष्टर निर्वाचन चिन्ह टास्न राख्न नपाउने व्यवस्था भएकाले सुरक्षाकर्मी परिचालन गरेर हटाउन थालिएको मुख्य निर्वाचन अधिकृत धु्रबप्रसाद सापकोटाले जानकारी दिए। 

उनका अनुसार अनुसार निर्वाचन आचारसंहिता विपरितका कार्यसबै बन्द गर्न दलहरुलाई अनुरोध गरिएको र दलहरुबाट सार्वजानिक स्थानमा राखिएको भन्डा व्यानर हटाउन आनाकानी गरेपछि सुरक्षाकर्मीलाई हटाउन निर्देशन दिइएको हो। सार्वजानिक स्थानमा झन्डा निर्वाचन चिन्ह पोष्टर टास्न नपाउने व्यवस्था छ, उनले भने, दलहरुले फाट्टफुट गर्नुभएको देखियो, हामीले हटाउनुस् भन्दा उहाँहरु सकरात्म देखिएपनि नहटाएपछि हामीले हटाएर सफा गर्न सुरु गरेका छौं।

मुख्य निर्वाचन अधिकृत सापकोटाका अनुसार जिल्लामा सामान्य दुइ तिन ओटा मात्रै आचारसंहिता उल्लघन भएको उजुरी परेको र उजुरी उपर कारवाही समेत भइसकेको छ। मुख्य निर्वाचन अधिकृतको निर्देशन अनुसार सशस्त्र प्रहरीले जिल्लाको मुख्य बजार क्षेत्र शान्तिनगरचोक विपी राजमार्गको शान्तिनगरदेखि ढुङग्रेबास लगायतका स्थानका सार्वजानिक स्थानमा राखिएको झन्डा ब्यानर हटाएको छ। 

यस्तै, सार्वजानिक तथा निजी गाडीमा राखेको झन्डा समेत प्रहरीले निकाल्न लगाएको छ। निर्वाचन नजिकिएसँगै सुरक्षा व्यवस्था कडा पार्दै आचारसंहिता उल्लंघन गर्नेलाई कारवाही समेत गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। निर्वाचन आचारसंहितालाई ध्यान दिएर मात्रै प्रचारप्रसार गर्न र आचारसंहिता विपरित काम नगर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्देशन जारी गरेको छ।

प्रकाशित: २५ वैशाख २०७९ १०:५४ आइतबार