समाज

पुरस्कारको रकम रेडपाण्डा संरक्षणमै

इलाम– दुर्लभ वन्यजन्तु रेडपाण्डा (हाबे्र) संरक्षणमा क्रियाशिल 'रेडपाण्डा नेटवर्क'ले जितेको एक अन्तर्राष्ट्रिय पुरस्कारको रकम रेडपाण्डा संरक्षणकै काममा खर्च गर्न लागिएको छ । संसारभरीमा दुई हजार दुई सय र मेची पहाडमा दुई सय २० हाराहारीको संख्यामा सीमित रेडपाण्डा लजालु स्वभावको वन्यजन्तु हो ।

हेर्दा सुन्दर देखिने यो वन्यजन्तु लेकाली र हिमाली क्षेत्रमा पाइन्छ ।'युरोपियन आउटडोअर कन्जर्भेसन एशोसिएसन' ले पुरस्कार स्वरुप दिएको ३० हजार युरो अर्थात् ३० लाख रुपैयाँभन्दा बढी रकम रेडपाण्डा संरक्षणमै खर्च गरिने भएको हो । एसोसिएसनले अनलाइन भोटिङका आधारमा रेडपाण्डा नेटवर्कलाई केही महिनाअघि उक्त पुरस्कार दिएको थियो । नेटवर्क मेची पहाडका तीन जिल्ला इलाम, पा"चथर र ताप्लेजुङमा रेडपाण्डा संरक्षणमा सात वर्षदेखि क्रियाशिल संस्था हो ।
red pada 3

इलामको सामुदायीक बनमा भेटिएको रेडपाण्डा ।
पुरस्कारबापत पाएको रकममा अरु रकम थपेर रेडपाण्डा संरक्षणका थप काम शुरु गरिएको नेटवर्कको इलामस्थित साझेदार संस्था उच्च पहाडी जडिवुटी उत्पादक तथा संरक्षण संस्थाले जनाएको छ । पुरस्कारवापतको रकम रेडपाण्डा संरक्षणअन्तर्गत चरिचरन व्यवस्थापन, वृक्षरोपण, ग्रामीण पर्यटन र होमस्टे व्यवस्थापनमा खर्च गरिने संस्थाका कार्यक्रम संयोजक धनबहादुर खाम्दाकले बताए ।

'नेटवर्क र साझेदार संस्थाहरुको तर्फबाट ५१ लाख ५१ हजार रुपैयाँ इलामका चार गाविसमा रेडपाण्डा संरक्षणमा खर्चिनेछ,' खाम्दाकले भने, 'यसले दुर्लभ वन्यजन्तु जोगाउन ठूलो सहयोग पुग्ने विश्वास छ ।' नेटवर्कसँगको साझेदारीमा संस्थाले इलामका माबु, जमुना, जोगमाई र प्याङ्ग गाविसमा संरक्षण अभियान चलाउ"दै आएको छ । पाँचथर र ताप्लेजुङमा अरु नै साझेदार संस्था छन् ।

उल्लिखित चार गाविसको तीन हजार सात सय ७० हेक्टर क्षेत्रफलमा दुर्लभ रेडपाण्डा संरक्षण गर्न स्थानीयलाई अग्रसर गराउन उनीहरुको जीविकोपार्जनमा सहयोग गर्ने र संरक्षणका लागि जनचेतना अभिबृद्धिको कार्यक्रम गरिने नेटवर्कका संरक्षण संयोजक सोनामटासी लामाले बताए । 'पहिल्यैदेखि संरक्षण हुंदै आएको हो, अझ व्यवस्थित गर्न पुरस्कारको रकम पनि त्यसमै खर्चिन लागिएको हो,' लामाले बताए ।

संरक्षणअन्तर्गत रेडपाण्डाको वासस्थानको व्यवस्थापन गर्दै स्थानीयलाई जीविकोपार्जनमा सघाउन प्रमुख लक्ष्य हुनेछ । 'स्थानीय सक्रिय भए मात्र परियोजना प्रभावकारी हुन्छ' भन्ने मान्यताअनुरुप नेटवर्कले रेडपाण्डा संरक्षण प्रभावकारी पार्न समुदायको जीविकोपार्जन र चेतनास्तर वृद्धिमा ध्यान दिएको हो । सात वर्षको अवधिमा लाखौं रकम खर्चेर त्यसक्षेत्रमा रेडपाण्डा संरक्षण गरिँदै आएको छ ।

बासस्थान सुधारसँगै खुला चरिचरन नियन्त्रण, सामुदायिक वनको कार्ययोजना परिमार्जन गरेर संरक्षण क्षेत्र स्थापना, नर्सरी स्थापना, बृक्षरोपणलगायतका काम गरिनेछ । यस्तै, स्थानीयको जीविकोपार्जनमा सहयोग अन्तर्गत अग्र्यानिक खेती तालिम तथा बीउ वितरण, पोली हाउस निर्माण, होमस्टे विकास तालिम, हस्तकलाका सामग्री निर्माण तालिमलगायतका रहेका छन् । पर्यटन विकास पनि प्राथमिकता हुनेछ ।

बढ्दो वन अतिक्रमण, खुला चरिचरन र चेतनास्तर कम हुँदा रेडपाण्डा दुर्लभ हुँदै गएको सरोकारवाला बताउँछन् । लजालु स्वभावको हुँदा सजिलै पासोमा पार्न सकिने र समातेर घरमै ल्याउन पनि सकिने हुँदा यसको संख्या घटेको हो । सीमावर्ती गाउ"का शिकारीले विभिन्न समयमा रेडपाण्डा समातेर भारतीय भूमितर्फ लैजाने गरेको घटनासमेत बाहिर आएका छन् ।

प्रकाशित: १८ श्रावण २०७२ ०२:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App