समाज

महानिरीक्षक सिंहद्वारा भ्रष्टाचारको शून्य सहनशीलता कायम राख्ने प्रतिबद्धता

नवनियुक्त प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले भ्रष्टाचारको शून्य सहनशीलता कायम राख्ने कुरामा आफ्नो प्रतिबद्धता रहेको जनाएका छन्।

गृह मन्त्रालयमा सोमबार दज्र्यानी चिन्ह लगाएपछि सञ्चारकर्मीहरुसँग बोल्दै नवनियुक्त महानिरीक्षक सिंहले सांगठनिक क्रियाकलापहरुलाई प्रक्रियागत एवम् पारदर्शी बनाइ कर्मचारीहरुमा जवाफदेहीता बढाउने र अकर्मण्यता पूर्ण रुपमा निर्मुल गर्ने, भ्रष्टाचारको शून्य सहनशीलता कायम राख्ने कुरामा आफ्नो प्रतिबद्धता रहेको बताएका हुन्।

उनले अपराधिक तत्वसँगको साँठगाँठलाई निमिट्यान्न पार्ने र आफ्ना सहकर्मीहरुलाई साथमा लिई संगठन सुधारका कार्यहरु लागू गर्ने प्रतिबद्धतासमेत जनाए। महानिरीक्षक सिंहले आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई सुरक्षित, भयरहित तवरबाट सम्पन्न गर्ने पनि बताए।

नवनियुक्त प्रहरी महानिरीक्षक सिंहले स्थानीय तहको निर्वाचनमा प्रत्येक नागरिकहरुले आफ्नो अधिकारको प्रयोग गर्न सक्ने निर्वाचन सुरक्षा योजनाअनुरुप प्रहरीको सम्पूर्ण श्रोत, साधनहरु प्रभावकारी रुपमा परिचालित हुने पनि स्पष्ट पारे।  

प्रकाशित: १९ वैशाख २०७९ ०८:२८ सोमबार

नवनियुक्त प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह गृह मन्त्रालय