समाज

न्यायाधीश नियुक्तिका लागि निर्देशिका बनाइने

कानुनमन्त्री गोविन्द शर्मा बन्दी कोइरालाले न्यायाधीश नियुक्तिमा अब पब्लिक अडिट गराउने व्यवस्थासहितको निर्देशिका जारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कानुनमन्त्रीमा नियुक्ति भएकोमा बधाई दिन सर्वाेच्च अदालत बार एशोसिएशनले आयोजना गरेको कार्यक्रममा कोइरालाले शुक्रबार सो प्रतिबद्धता व्यक्त गरेका हुन्। न्यायाधीश नियुक्तिसम्बन्धी स्पष्ट आधारहरू समेत रहेको निर्देशिका चाँडै जारी गर्ने पनि उनले बताए।

आगामी एक महिनाभित्रमा सर्वाेच्च अदालतमा २ न्यायाधीशका पद खाली हुँदैछन् भने उच्च अदालतका मुख्य न्यायाधीशका ५ पद र उच्च तथा जिल्ला अदालतमा ठूलो संख्यामा न्यायाधीशका पद खाली छन्। निर्देशिका बनेपछि मात्रै न्यायाधीश नियुक्तिको प्रक्रिया सुरु हुने पनि उनले बताए।

‘निर्देशिकामा कस्तो क्षमता र दक्षता भएको व्यक्तिलाई नियुक्ति गर्ने भन्ने तय हुनेछ,’ मन्त्री कोइरालाले भने, ‘दक्षता र क्षमता जाँच्न सकिने विषय हुन्। त्यसैले न्यायापरिषद्ले निर्देशिकामार्फत तिनको परीक्षण गर्छ। कुन व्यक्ति कति इमान्दार छ भन्ने कुरा जाँच्न नसकिने भएकोले पब्लिक अडिटमार्फत गुनासो सुनुवाई गरेर परीक्षण इमान्दारीता समेत परीक्षण गरेर नियुक्ति गर्न न्यायपरिषद्ले निर्देशिका बनाउन लागेको हो।’ 

प्रकाशित: १८ वैशाख २०७९ ०४:०९ आइतबार

कानुनमन्त्री गोविन्द शर्मा बन्दी कोइराला न्यायाधीश नियुक्तिका लागि निर्देशिका सर्वाेच्च अदालत बार एशोसिएशन