समाज

लागुऔषध बरामद

भारतको जोगबनीबाट ल्याउँदै गरेको ठूलो परिणामको लागुऔषध सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट बरामद गरेको छ।  

सीमा क्षेत्रअन्तर्गत विराटनगर–१६ स्थित दरैया नाका हुँदै साइकलमा राखेर ल्याउँदै गरेको मैदाको बोरा चेक गर्दा बोराभित्र लागुऔषध फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।  

‘भारतबाट साइकलमा सामान ल्याउँदै गर्दा चेक गर्न रोक्न साथ ती व्यक्ति फरार भए,’ सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले भने, ‘साइकलमा रहेको मैदाको बोरा खोलेर चेक गर्दा बोराभित्र लागुऔषध भेटायौं। ओसारपसारमा संलग्न रहेका व्यक्ति साइकल र बोरा छाडेर भारततिर नै फरार भए।’

लागुऔषध नाइट्राभेट ६ सय ट्याब्लेट, स्पास्मोप्रोक्सिभन ५ सय २८ ट्याब्लेट र डाइलेक्स डिसी ५९ बोतल बोराभित्रबाट बरामद गरिएको एसपी लामिछानेले बताए। बरामद गरिएको लागुऔषध र नियन्त्रणमा लिएको साइकल आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित: १७ वैशाख २०७९ १४:२२ शनिबार