समाज

के जलवायु परिवर्तन मृत्युको घण्टी बनेको हो?

गत अगस्तमा संयुक्त राष्ट्र संघका महासचिव एन्टिनिओ गुटेरेसले जलवायु परिवर्तनका बारेमा अत्यन्त गम्भीर भनाइ राखे। जलवायु परिवर्तन सम्बन्धी अन्तर्सरकारी निकाय (आइपीसीसी) ले सार्वजनिक गरेको एक वैज्ञानिक प्रतिवेदनको नतिजालाई सङ्केत गर्दै उनले भने, ‘यो मानवताका लागि कोड रेड हो।’

विश्वका ६० भन्दा बढी मुलुकका दुई सय ३४ वैज्ञानिकले गरेको सो अध्ययनको नतिजाले समयमै विचार नपुर्‍याए जलवायुजन्य विपत्ले मानवताका लागि ठूलो सङ्कट ल्याउने चेतावनी दिएको थियो।

पृथ्वीको तापक्रम बढाउन खनिज इन्धन तथा कोइलाको अत्यधिक प्रयोग जिम्मेवार रहेको इङ्कित गर्दै उनले भनेका थिए, ‘कोइला, खनिज इन्धनको प्रयोगलाई नियन्त्रण नगर्ने हो भने यो प्रतिवेदनलाई मृत्युको घण्टी (डेथ नेल) को रूपमा लिन सकिन्छ।’

पछिल्ला एक वर्षमा सार्वजनिक भएका वैज्ञानिक अध्ययनले गुटरेसले व्यक्त गरेका चिन्तालाई पुष्टि गर्दछन्। वैज्ञानिकले धेरै अघिदेखि जलवायु परिवर्तनका कारण पृथ्वीको पारिस्थितिकीय प्रणाली गम्भीर हिसाबले प्रभावित भएको र हुने क्रममा रहेको चेतावनी दिँदै आएका थिए। तर राजनीतिक नेतृत्वले यसलाई गम्भीरतापूर्वक लिएका थिएनन् तर अहिले स्थिति बदलिएको छ। जलवायु परिवर्तन अब ‘मिथक’मा मात्र सीमित छैन। यसको प्रभाव प्रकृति र मानवताका लागि गम्भीर रहेको सबैले स्वीकार गरेका छन्।

आइपीसीको पहिलो कार्य समूह (वर्किङ ग्रुप)ले ९ अगस्तमा सार्वजनिक गरेको छैटौँ प्रतिवेदनको पहिलो भागअन्तर्गत जलवायु परिवर्तनको वैज्ञानिक आधारलाई समीक्षा गरिएको थियो। मानवीय कारणले जलवायु परिवर्तनका घटना बढेको र पृथ्वीको वायुमण्डल, समुन्द्र तथा जमिन तातेको तथ्यलाई प्रतिवेदनले सबैभन्दा बढी जोड दिएको छ।

कार्बनडाईअक्साइड लगायत हरित गृह ग्यासको बढ्दो उत्सर्जनका कारण विश्वको तापक्रम बढेको छ। पृथ्वी तातो हुँदै जादा वनमा डढेलोको प्रकोप बढेको छ, समुद्री सतह वृद्धि भएको छ भने वर्षा तथा परम्परागत मौसमका आधारभूत चरित्र बदलिएको छ। तापमानमा भएको बढोत्तरीका कारण उच्च हिमाली क्षेत्रमा हिउँ पग्लने क्रम बढ्दो छ। यसले हिमताल र हिमनदीको स्थिति र प्रवाह बिथोलिएको छ।

आइपीसीसीको वैज्ञानिक प्रतिवेदनले पृथ्वीको वायुमण्डलको औसत तापक्रम औद्योगिक क्रान्तिका बेलाको भन्दा १.१ डिग्रीले बढी सकेको देखाएकोे छ। जलवायुसम्बन्धी पेरिस सम्झौताले विश्वव्यापी तापमान वृद्धिलाई औद्योगिकीकरण हुनुअघिको तुलनामा यो शताब्दीको अन्तसम्म सम्भव भएसम्म १.५ डिग्रीमा सीमित गर्ने र नसके २ डिग्रीमाथि बढ्न नदिने लक्ष्य लिएकोमा तापमानमा देखिएको यो द्रुततम बढोत्तरी चिन्ताको विषय बनेको छ। यसैगरी आगामी १० वर्ष अर्थात् सन् २०३० को सुरुमै पृथ्वीको औसत तापक्रम १.५ डिग्री सेल्सियस बढ्न सक्ने चेतावनी प्रतिवेदनको छ।

अगस्तमा सार्वजनिक गरिएको प्रतिवेदनपछि आइपीसीसीको दोस्रो समूहले २८ फेब्रुअरीमा जलवायु परिवर्तनका प्रभाव, अनुकुलन तथा जोखिम सम्बन्धी अर्काे प्रतिवेदन सार्वजनिक गरेको थियो। यो प्रतिवेदनले पनि मानवीय कारणले सिर्जित जलवायु परिवर्तनले प्रकृति र मानिसलाई ठूलो हानी नोक्सानी गरेको र यस्ता प्रभावहरू प्राकृतिक तथा मानवीय प्रणालीमा रहेको अनुकुलन क्षमताभन्दा बाहिर रहेको देखाएको छ। कतिपय समुदाय र प्राकृतिक प्रणाली झन धेरै जोखिममा रहेको प्रतिवेदनले औँल्याएको छ।

यसैगरी जलवायु परिवर्तनले खाद्य तथा पानीको सुरक्षामा कमी आएको, मानिसको भौतिक तथा मानसिक स्वास्थ्यका समस्या बढेको तथा विषम मौसमी घटनाका कारण जीवनयापन प्रभावित भएको पाइएको छ। विषम मौसम र जलवायुका कारण मानिसहरू आफ्नो थातथलो छाड्न बाध्य हुँदा मानवीय सङ्कट सिर्जना भएको तथ्यलाई पनि दोस्रो कार्य समूहको प्रतिवेदनले औँल्याएको छ। बाढी तथा अनिकालका कारण खाद्य असुरक्षा र कुपोषण बढ्दो क्रममा देखिएको छ।

विशेषगरी अफ्रिका एवम् मध्य तथा दक्षिणी अमेरिकामा यो समस्या अत्यधिक छ। अफ्रिकी देश मदागास्कर जलवायु परिवर्तनका कारण भोकमरीको मारमा परेको समाचार केही महिनाअघि सार्वजनिक भएका थिए। विगत चार दशक यताकै सबैभन्दा ठूलो खडेरीले त्यहाँका किसानले कृषि उपज उत्पादन गर्न नसकेका र किरा–फट्याङ्ग्रा खाएर उनीहरू बाँच्न बाध्य भएको समाचारले विश्वको ध्यान आकृष्ट गरेको थियो। मदागास्करको घटना आइपिसिसीले इङ्गित गरेको ‘परिस्थितिकीय खडेरी’को परिणाम मान्न सकिन्छ।

त्यसो त, मदगास्कर मात्र होइन, पृथ्वीका हरेक कुनामा जलवायु परिवर्तनका प्रभाव देखिन थालेकाछन्। आइपिसिसीको प्रतिवेदनका अनुसार कतिपय यस्ता परिवर्तन पूर्ववत् स्थितिमा फर्काउन नसकिने (इरिभर्सिबल) खालका छन्। यस्ता उदाहरणमा समुद्रको सतहमा आएको वृद्धि, जमिनका सतहमा देखिएको प्रभाव र हिउँका तहमा देखिएको अत्यधिक र तीव्र ह्रास रहेका छन्। प्रतिवेदनले जलवायु परिवर्तनका कारण तातो हावा (हिटवेभ), अत्यधिक वर्षा, खडेरी, अनिकाल, बाढीका घटना विश्वव्यापी रूपमा बढेको देखाएको छ।

दोस्रो कार्य समूहले सन् २०२१ देखि सन् २०४०को अवधिसम्म १.५ डिग्री सेन्टिग्रेडले पृथ्वीको तापमान बढेको खण्डमा यसले परिस्थितिकीय प्रणाली र मानवलाई झन् धेरै जोखिम निम्ताउने चेतावनी दिएको छ। तर तापमान वृद्धिलाई १.५ डिग्रीभन्दा माथि बढ्न नदिँदा जलवायुजन्य हानी नोक्सानीको घटनालाई निर्मूल पार्न नसके पनि केही नियन्त्रण गर्न सकिने प्रतिवेदनको ठहर छ। तर सन् २०४० उता तापमान वृद्धिको स्तरअनुसार १२७ विभिन्न थरीका जलवायुजन्य जोखिम प्रकृति र मानिसले झेल्न पर्ने प्रतिवेदनको राय छ। आइपिसिसीको तेस्रो समूहले ४ अप्रिलमा सार्वजनिक गरेको जलवायु परिवर्तन न्यूनीकरण विषयसँग सम्बन्धित अध्ययन नतिजाले कार्बन डाइअक्साईडलगायत हरितगृह ग्याँसको उत्सर्जन बढेको तथ्यलाई महत्व दिएको छ।

पग्लँदै हिमनदी

केही साताअघि सार्वजनिक गरिएको एक अध्ययनले संसारको सबैभन्दा अग्लो स्थानमा रहेको हिमनदी तीव्र गतिमा पग्लिरहेको देखायो। सगरमाथाको सबैभन्दा अग्लो भागमा रहेको साउथ कोल ग्लेसियरको मोटाइ गत २५ वर्षमा १८० फिट अर्थात् ५४ मिटरले घटेको सो अध्ययनले भनेको छ।

हिमनदी (ग्लेसियर) मा रहेको हिउँको थुप्रोमा भएको क्षयीकरणका कारण त्यसभित्र रहेको कालो हिउँ अर्थात् ब्ल्याक आइसमा सूर्यको किरण पुग्दा यसको पग्लने क्रममा तीव्रता आएको अनुसन्धानमा संलग्न वैज्ञानिकको मत छ। क्यानडाको युनिभर्सिटी अफ मेन र किङ्ग्स कलेज लन्डनको शोधकर्ताले गरेको तथा नेचरको क्लाइमेट एन्ड एटमस्फेरिक क्लाइमेट साइन्स जर्नलमा प्रकाशन भएको उक्त अध्ययनले हिमनदी सतहमा यो परिवर्तनका लागि पृथ्वीको बढ्दो तापक्रम र उक्त स्थानमा तीव्र वेगमा चल्ने हावा कारक रहेको मानेको छ।

साइन्टिफिक रिपोट्र्स नामक अर्काे जर्नलमा हालै प्रकाशित एक प्रतिवेदनअनुसार हिमपहिरो, बाढी तथा तीव्र गतिमा हिउँ पग्लिँदा नेपाल, भारत र भुटानका बासिन्दालाई खतरा बढेको छ। हिमालय क्षेत्रका हिमनदी (ग्लेसियर) विगत सात शताब्दीको तुलनामा पछिल्ला ४० वर्षमा १० गुणा बढी पग्लेको उक्त वैज्ञानिक अध्ययनले औँल्याएको थियो। परापूर्व कालमा रहेको हिमनदीको पदचाप (ग्लेसियल ट्रयाक) सँग तुलना गरेर यो क्षेत्रमा कति मात्रामा हिउँ पग्लेको हो भनेर अध्ययनमा आँकलन गरिएको थियो। हिमनदी पग्लेर बग्दा हिमनदीसँगै ठूला चट्टान तथा गेग्रान जम्मा हुने भएकाले वैज्ञानिकले त्यसप्रकारको ग्लेसियल ट्रयाकको अनुमान गरेका थिए। अध्ययनको क्रममा दक्षिण एसिया क्षेत्रमा १५ हजार हिमनदीका तस्वीरको तुलनात्मक समीक्षा गरिएको थियो।

दक्षिण एसियाको पर्वतीय क्षेत्रका हिमनदी पग्लँदा यसको परिणाम झन डरलाग्दो हुने देखिन्छ। हिमनदी (ग्लेसियर) पग्लेर निस्कने पानी यो क्षेत्रमा सयौं नदीमा समाहित हुन्छ। यो पानीले यो क्षेत्रका कृषियोग्य जमिनमा सिँचाइ हुन्छ र पिउने पानीको आपूर्ति हुन्छ। यो सन्तुलन खलबलिँदा यसका बहुआयामिक प्रभाव पर्ने प्रष्ट छ। हिमनदी पग्लिँदा प्रवाह हुने अत्यधिक पानीका कारण हिमनदी नजिक रहेका बासिन्दालाई मात्र होइन, तल्लो तटमा समेत डुबान तथा बाढीको समस्या सिर्जना हुने देखिन्छ। यसले समुद्रको सतहसमेत बढ्न गई समुद्रको किनारमा बसोबास गरेका समुदायलाई चुनौती थपिने देखिएको छ।

जिम्मेवार हामी

यो प्रसङ्गमा सबैभन्दा महत्त्वपूर्ण पक्ष के हो भने यस्ता अनपेक्षित परिवर्तनका लागि मानवीय गतिविधि बढी जिम्मेवार रहेका छन्। त्यसो त पृथ्वीको भूगर्व, पारिस्थितिकीय प्रणाली र जलवायु परिवर्तनमा सबैभन्दा बढी प्रभाव मानिसले पारेको हिसाबले अहिलेको यूुगलाई ‘एन्थ्रोपोसेन एज’ भनिन्छ। लाखौँ वर्ष अघिदेखि सुरु भएको मानव विकासका क्रममा आफ्नो बलबुद्धिका भरमा मानिसले पृथ्वीलाई आफ्नो नियन्त्रणमा लिएको छ। औद्योगिकीकरण तथा मानवीय स्वार्थका अन्य प्रयोजनका लागि मानिसले पृथ्वीको समग्र वातावरणलाई नराम्ररी बिथोलेको छ। जसका कारण मानव सभ्यता र प्राकृतिक सन्तुलन नै सङ्कटमा परेको छ।

अब के त?

जलवायु परिवर्तन एवम् विशेषगरी पृथ्वीको तापमान बढाउन प्रमुख कारक मानिएको हरित ग्याँसको उत्सजर्नको दरलाई तत्काल नियन्त्रण गर्न आवश्यक छ। वैज्ञानिकले जलवायु परिवर्तनले ल्याउने घातक प्रभावलाई रोक्न विश्वले यो शताब्दीको मध्यसम्म हरितगृह ग्याँसको उत्सर्जनलाई शून्यमा झार्नुपर्ने भनेका छन्। वायुमण्डलमा रहेका यी ग्याँसलार्ई सदाका लागि हटाउन र अन्य हिसाबले हुने उत्सर्जनलाई पनि सन्तुलनमा ल्याउन आवश्यक छ। यो ग्याँसको उत्सर्जनको स्तरभन्दा हाम्रा हटाउने प्रयास बढी हुनुपर्दछ।

विश्वले अल्पकालीन तथा दीर्घकालीन हिसाबले लक्ष्य नै तोकेर शून्य उत्सर्जनका लागि थप प्रयास गर्न आवश्यक छ। विशेषगरी सबैभन्दा बढी हरितगृह ग्याँस तथा कार्बन उत्सर्जन गर्ने विकसित तथा विकासोन्मुख मुलुकले जलवायु परिवर्तन रोक्न गरेका प्रतिबद्धता कार्यान्वयन गर्न कुनै कन्जुस्याइँ गर्न हुँदैन। मानव जातिको समग्र भविष्यसँग जोडिएको यो विषयको महत्त्वलाई आइपिसिसीका छैटौँ प्रतिवेदनले झन् टड्कारो बनाएको छ र यो चुनौतीलाई सम्बोधन गर्न तत्काल प्रभावकारी पहल गर्न आवश्यक रहेको देखाएको छ।

हामी के गर्न छौं?

संयुक्त राष्ट्र संघका महासचिव गुटेरसले भनेझैँ मानवताका लागि ‘कोड रेड’ मानिएको जलवायु परिर्वतनलाई रोक्न समग्र विश्व तथा सम्बन्धित सरकारको भूमिका त छँदै छ; सर्व साधारणले पनि यसमा योगदान गर्न सक्छन्। जलवायु सङ्कटलाई सम्बोधन गर्ने प्रयास समग्रतामा हुन आवश्यक छ। चिम्पान्जी सम्बन्धी अध्ययनमा ६० वर्ष बिताएकी वैज्ञानिक जेन गोडालले सन् २०२१ मा क्यालिफोर्नियामा आयोजित नेचर कन्जरभेन्सी समिटमा भनेकी छिन, ‘हामी एक्लैले केही गर्न सक्दैनौँ। समस्या भयावह छ। पृथ्वीका भविष्यका लागि हरेक व्यक्ति र ससाना संस्थाहरूको भूमिका पनि उत्तिकै आवश्यक रहन्छ। यस्ता संस्थाले सानो स्तरमा जोहो गर्ने रकम र विश्वका धनीले दिने सहायता दुबै प्रयोग गरेर जलवायु परिवर्तनलाई सम्बोधन गर्न आवश्यक छ।’

यो प्रसङ्गमा महत्त्वपूर्ण पक्ष भनेको जलवायु परिवर्तन थेग्न सक्ने प्राकृतिक तथा मानवीय क्षमता अभिवृद्धि गर्नु हो। यो क्षमता विश्वका विभिन्न क्षेत्र तथा उपक्षेत्रमा असमान छ। गरिबी तथा खाद्य सुरक्षा कमजोर भएका र जोखिममा रहेका शहरी तथा ग्रामीण समुदायसँग यो क्षमताको अभाव छ। त्यसैले यी समुदाय तथा क्षेत्रको क्षमता अभिवृद्धि  महत्त्वपूर्ण रहन्छ। स्थानीय तथा परम्परागत ज्ञानको प्रयोगले पनि जलवायुजन्य जोखिम न्यूनीकरणमा सहयोग पुग्दछ। 

जोखिममा रहेका समुदाय र क्षेत्रका लागि थप अन्तराष्ट्रिय सहयोग, वित्तीय प्रवाह तथा प्रविधिको हस्तान्तरण गर्न आवश्यक छ। मानव कल्याण र पृथ्वीको स्वास्थ्यसँग जोडिएको यो विषयलाई सम्बोधन गर्न ढिलो भएमा दिगो भविष्य र बाच्नलायक पृथ्वी बनाउने दिशामा हामीलाई उपलब्ध अन्तिम अवसर पनि गुम्नेछ। यो अवसर गुमेको खण्डमा गुटेरसले सङ्केत गरेको जलवायु परिवर्तन मानव सभ्यता र प्रकृतिका लागि साच्चै नै मृत्युको घण्टी हुन जानेछ।

प्रकाशित: १० वैशाख २०७९ ००:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App