समाज

डा. राईको स्मृतिमा शालिक र पार्क निर्माण

शालिक अनावरण गर्दै त्रियुगा नगरप्रमुख बलदेव चौधरी। तस्बिरः महेश्वर

उदयपुर सदरमुकाम निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने इतिहासकार स्वर्गीय डा. रणशेर राईको स्मृतिमा उनको अर्धकदको शालिक तथा पार्क निर्माण गरिएको छ। त्रियुगा नगरपालिका र डा. राई परिवारको संयुक्त लगानीमा नगरपालिका ११ चप्पनस्थित डा. रणशेर खोरिया जंगलक्षेत्रमा शालिक र पार्क निर्माण गरिएको हो।  

डा. राईले तत्कालीन सदरमुकाम उदयपुरगढीबाट गाईघाट सार्दै बजार व्यवस्थापन गर्न महत्पूर्ण भूमिका निर्वाह गरेका थिए। त्रियुगा र बरुवा खोला बगरमा रहेको गाईघाट बजारलाई व्यवस्थित बनाउने, औलोको जोखिमले मान्छे आवागमन गर्नै डराउने गाईघाट आसपास त्रियुगा, बरुवा र लुहाले खोला बगरमा बस्ती बसाउनेदेखि सदरमुकाममा शिक्षा, स्वास्थ्यलगायत बिभिन्न सामाजिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरेर योगदान दिएका छन्।

त्रियुगा नगरपालिका १० स्थायी घर भएका राईको अमूल्य योगदानको कदर गर्दै परिवारको आग्रहमा नगरबाट केही लगानी गरेर पार्क तथा शालिक निर्माण गरिएको हो। पार्क र शालिक निर्माणमा १० लाख खर्च भएको छ। ‘डा. रणशेर राई स्मृति प्रतिष्ठान’का अध्यक्षसमेत रहेका छोरा महेन्द्रकुमार राईका अनुसार हाल किराती समुदायको समाधिस्थल रहेको सो जंगलक्षेत्र सुरुमा डा. राईले चर्चे भोगेको जमिन हो।  

उनैले २०२३ सालदेखि सो जग्गा किराती समुदायको समाधिस्थलका लागि भनेर निशूल्क हस्तान्तरण गरेको किरात राई यायोख्खाका पूर्व केन्द्रीय सदस्यसमेत रहेका राईले बताए। उनकै जमिन भएकाले सो ठाउँलाई केही वर्षअघि मात्र ‘डा. रण्शेर खोरिया समाधिस्थल’ नामाकरण गरिएको छ। उनकी छोरी जिल्ला समन्वय समिति उपप्रमुख गंगा राईले जंगल र निर्जन समाधिस्थल भए पनि आकर्षक पार्क र शालिक बनाएपछि सो क्षेत्र विस्तारै पर्यटकीयस्थलमा परिणत गर्न सकिने बताइन्।  

‘अहिले समाधिस्थल मात्र भएकाले निर्जन क्षेत्र छ, तर भविष्यमा सो ठाउँलाई आकर्षक र पर्यटक तान्ने क्षेत्र बनाउन सकिन्छ,’ उपप्रमुख राईले भनिन्, ‘चिहानघारी भए पनि खोला छेउ र घना जंगल भएकाले सितल र रमणीय छ। त्यसैले यसलाई बिभिन्न आकर्षण थपेर पर्यटन केन्द्रको रुपमा विकास गर्न सकिन्छ।’ स्व. राई पूर्व गोर्खा सैनिक पनि भएकाले पर्यटकीय आकर्षण दिन त्यसलाई स्तरोन्नति गर्दै ‘गोर्खा पार्क’ नामाकरण गर्ने, किरात मुन्दुमी मार्ग (ट्रेल रेस)सँग जोड्ने, बालबालिकादेखि वृद्धासम्मलाई आकर्षित गर्ने खालका बिभिन्न संरचना निर्माण गर्ने तयारी भईरहेको प्रतिष्ठानले जनाएको छ।  

सो क्षेत्रलाई वृहत्तर बनाउने लक्ष्यसाथ गुरुयोजना बनाउने तयारीमा लागेको महेन्द्रले बताए। सैनिक रहदै चिकित्सक रहेका डा. राईकै अगुवाईमा उदयपुर अस्पताल बनेको परिवाजनको भनाई छ। सेवा निबृत्त भएपछि उनी गृहजिल्ला खोटाङ, सोलुखुम्बु, भोजपुर, ओखलढुंगा र उदयपुरमा स्वास्थ्यकर्मी भएर योगदान गरेका थिए। उनको यही योगदान झल्कने गरी सो ठाउँमा अन्य संरचनाहरु निर्माण गर्ने तथा डा. राईको जीवनी अध्ययनस्थल बनाउने लक्ष्य प्रतिष्ठानले लिएको छ।

बहुआयामिक व्यक्तित्व भएकाले उनले गरेको योगदान झल्कने गरी संरचना बनाउन राज्यले पनि सहयोग गर्नुपर्ने स्थानीय सहकर्मी लोकमणि दाहालले बताए। ‘शालिक र पार्क मात्र होईन, उनी उदयपुर बृहत्तर विकासमा महत्वपूर्ण योगदान गर्ने महान व्यक्ति भएकाले सो कुरा इतिहासमा लिपीबद्ध गर्नुपर्ने दाहालको सुझाव छ।  

नवनिर्मित शालिक र पार्कको त्रियुगा नगरप्रमुख बलदेव चौधरीले एक कार्यक्रमका बीच अनावरण गरे। सो अवसरमा उनले स्वर्गीय राई उदयपुरको धुरन्धर योगदानकर्ता रहेको भन्दै इतिहासको सम्मान गर्नुपर्ने बताए। उदयपुरगढीमा रहेको सदरमुकाम २०२८ सालमा गाईघाट सार्नेदेखि सो ठाउँमा आफुले जंगल फँडानी गरेको सयौं बिगाह जमिनमा बस्ती र सरकारी कार्यालय बसाएको मेयर चौधरीले स्मरण गरे। उनले बालबालिकालाई शिक्षा दिन विद्यालय स्थापना गर्ने, गरिव दुःखीको सहारा बनेर सेवा गर्ने स्वभावका रहेको र आफै चिकित्सक भएर जनस्वास्थ्यमा महत्वपूर्ण योगदान गरेको स्मरण गरे।  

यसैबीच स्मृति फाउण्डेसन र गोर्खा सिमेट्रीज ट्रष्ट निर्माण प्रालिले शालिक र पार्क निर्माणमा सहयोगदाता, आफन्त, संघसंस्था र डा. राईले स्थापना गरेका विद्यालयका शिक्षक, समकक्षी तथा जग्गादातालाई सम्मान गरेको छ। सम्मान पाउनेमा खोटाङ हलेसी तुवाचुङ नगरपालिका धितुङपन्थेमा निर्मित बुलापन्थे माध्यमिक बिद्यालयका पुर्व प्रअ होमनाथ दाहाल, लोकमणि दाहाल, टंकनाथ दाहाल, पूर्व विद्यार्थी तथा मानार्थ सेनानी खड्ग राई, उद्धवप्रसाद दाहाल छन्। त्यसैगरी दोस्रो विश्वयुद्धका योद्धा त्रियुगा नगरपालिका ५ का मनिराज थुलुङलाई पनि अभिनन्दन भएका थिए।

प्रकाशित: ९ वैशाख २०७९ १३:४४ शुक्रबार