समाज

साइबर जोखिममा फस्दै ‘डिजिटल पुस्ता’

रोइरहेको दूधे उमेरको शिशु डिजिटल स्क्रिन (मोबाइल, ट्याब्लेट, ल्यापटप, टिभी) देखाउँदा शान्त हुन्छ। कुनै बालबालिकालाई खाना खुवाउन पनि डिजिटल स्क्रिन दिएर फकाउनुपर्छ। यो दृष्टान्तले अक्षर नचिन्दै डिजिटल ‘स्क्रिन’ चिन्ने पुस्ता उत्पादन भइरहेको कुरा जनाउँछ। सूचना, प्रविधिमा आएको अभूतपूर्व विकासले यो कुरालाई सम्भव बनाएको छ।

यसरी शिशु अवस्थामै डिजिटल स्क्रिनको लत बसेको शिशु वृद्धि र विकासक्रमसँगै डिजिटल दुनियाँमा आफूलाई स्थापित गर्दैै जान्छ। विकसित भइरहेको नवीन पुस्ताको तथ्य यही हो।

यही पुस्तालाई अहिले ‘डिजिटल नागरिक’ वा ‘डिजिटल पुस्ता’ भनेर परिचित गर्न थालिएको छ। डिजिटल पुस्ताले सूचना प्रविधिको माध्यमबाट आफूलाई ‘स्मार्ट’ बनाउँदै लगेको छ। सानै उमेरमा अभूतपूर्व ज्ञान हाँसिलसम्म गरेको पनि छ। यही कारण उनीहरूले आफूलाई पुरानो पुस्ताभन्दा अब्बल रूपमा तयार गर्दै लगेको छ।

यसरी स्मार्ट बन्दैगएको डिजिटल पुस्ताका लागि ‘वरदान’ बनेको डिजिटल सूचना प्रविधि कतिपय अवस्थामा ‘अभिशाप’ पनि बनेको देखिन्छ। तमाम बालबालिका र युवायुवतीहरूलाई यही साइबर संसारको दुनियाँले बर्बाद पनि बनाएका घटनाहरू बाहिर आइरहेका छन। ‘अहिलेको पुस्ताका लागि इन्टरनेट अपरिहार्य जस्तै बनेको छ। यसैले विज्ञान वरदान त सावित भएको छ नै,’ महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बालसंरक्षण तथा विकास शाखाका शाखा अधिकृत निरञ्जन ज्ञवाली भन्छन्,‘साथसाथै प्रयोगकर्ताले नजान्दा अभिशाप पनि बन्ने खतरा उत्पन्न भएको छ।’

डरलाग्दो तथ्यांक, यसरी फस्छन बालबालिका

सूचना प्रबिधिसँगको सन्निकटताले बालबालिकाहरूलाई डिजिटल पुस्ताको रूपमा विकसित गरेको विभिन्न अन्तर्राष्ट्रिय स्तरका अध्ययनका तथ्यांकहरू पनि पुष्टि गेको छ। विश्व बाल संगठन (युनिसेफ)ले गरेको एक अध्ययन अनुसार विश्वमा अहिले अनलाइन प्रयोगकर्ताहरूको संख्या चार अर्ब ६६ करोड छ। यसमध्ये एकचौथाइ संख्या बालबालिकाको छ। यी बालबालिकाहरूमा २०१९ देखि यताको एक सर्भेक्षणमा विश्वमा अनलाइनका माध्यमबाट बालयौन शोषण (चित्र र भिडियो)का माध्यमबाटका रिपोर्टहरू १०६ प्रतिशतले बढेको देखाएको छ।

यसरी विभिन्न ६ प्रकारमा बालबालिका अनलाइनको माध्यमबाट यौन दुव्र्यवहार र शोषणमा पर्ने गरेको विश्वव्यापी अध्ययनहरूले देखाउछ। त्यसमा पहिलोमा ‘साइबर ग्रुमिङ’ छ। यसमा बालबालिकालाई यौन दुव्र्यवहार र शोषका लागि अनलाइनमा साथी बनेर फकाउने र लोभ देखाउने कार्य पर्छ।

दोस्रोमा बाल यौन दुव्र्यवहार र शोषण सामग्रीहरू पर्दछन्। यसमा अवैध व्यवसायका लागिसमेत प्रयोग हुनसक्ने बालबालिकाका यौनजन्य फोटो र भियिो तथा लेखाइ पर्दछन्। त्यसपछि अनलाइन यौन बदला छ। यसअन्तर्गत बदलाका लागि प्रेमी/पूर्वप्रेमीद्वारा यौनजन्य फोटो वा भिडियो बनाएर वा अरूलाई पठाउने कार्य पर्दछ।  अर्कोमा बाल यौन दुव्र्यवहार र शोषणको प्रत्यक्ष प्रसारणका किसिमले पनि बालबालिका दुव्र्यवहार र शोषणमा पर्नेगरेको अध्यननले देखाउँछ। जसमा वेबक्यामको अगाडि बालबालिकालाई यौनजन्य क्रियाकलाप गराई प्रत्यक्ष प्रसारण गर्ने कार्य पर्दछ।

पाँचौमा ‘सेक्सटोर्सन’को माध्यम पर्छ। यसमा यौनजन्य वा नग्न फोटो वा भिडियो प्रयोग गरी ब्ल्याकमेल गर्ने कार्य पर्दछ। यसले यौन, पैसा वा अन्य असूलीहरू पर्दछन्, भने छैटौंमा ‘सेक्सटिङ’ पर्दछ। यसमा फोन र म्यासेजमार्फत यौनजन्य भिडियो, लेखाई जुन शोषणका लागि प्रयोग गर्न सकिने किसिमको हुन्छ।

यसरी अनलाइन प्रयोगकर्ता बालबालिकाहरू जतिबेला पनि दुव्र्यवहार र शोषणमा पर्नसक्ने सम्भावनाको जोखिम देखिन्छ। यसको जोखिममा अहिले नेपालका बालबालिकारू पनि ठूलै संख्यामा देखिएको अध्ययनहरूले देखाउँछ। पर्ने नेपालमा पनि कोभिड–१९ को महामारीयता बालबालिकामा इन्टरनेटको प्रयोगकर्ताको संख्या २८३ प्रतिशतले बढेको छ। त्यो संख्या यसको जोखिममा छ। यसरी चलाउने बालबालिकाहरूमध्ये २५ प्रतिशत दिनमा १० घण्टाभन्दा बढी समय इन्टरनेट चलाउँछन्। इन्टरनेट प्रयोगकर्ताहरूमा २० प्रतिशत बालिका र किशोरी इन्टरनेट दुव्र्यवहारको सिकार हुने गरेको युनिसेफको तथ्यांकले देखाउँछ।

संयुक्त राज्य अमेरिकाको वेपत्ता रु शोषित बालबालिकाका लागि राष्ट्रिय केन्द्र नामक संस्थाले नेपालमा सन २०२० मा गरेको एक अध्ययनले नेपालमा एकलाख ७८ हजार ३ सय ७१ वटा बाल यौन शोषण चित्रणसम्बन्धी रिपोर्ट परेका थिए। संख्यात्मक हिसाबले दिनमै नेपालमा एकहजारभन्दा बढी बालबालिका यस्तो समस्यामा पर्ने गरेको अर्को तथ्यांकले देखाएको छ। अहिले नेपालमा इन्टरनेटको प्रयोकर्ताको दर ११८ प्रतिशत पुगिसकेको छ। जसमा ८० प्रतिशत मोवाइलबाटै चलाउँछन्। यसमध्ये २५ प्रतिशत हिस्सा बालबालिकाको हुन्छ।

गम्भिर प्रभाव देखिँदै

पछिल्लो समय नेपालका बालबालिकामा पनि अनलाइन यौनशोषणका समस्याहरू गम्भीर रूपमा देखिन थालेको सम्बन्धित क्षेत्रमा सरोकारवालाहरू बताउँछन्। यसविषयमा नेपालमा अहिले प्लान इन्टरनेसनलसँगको सहकार्यमा चाइल्डसेफनेट नामक संस्थाले अभियानमूलक काम गरिरहेको छ।

‘साइबर पुस्ताका लागि यो विश्वव्यापी समस्या र चुनौती नै हो। यसमा पीडित भएका बालबालिकालाई नराम्रो असर पनि पर्नेगरेको पाइएको छ,’ प्लान इन्टरनेसनलका मदनराज जोशीले भने,‘यसैले यसमा केही अभियानमूलक, सचेतनामूलक र नीतिगत पैरवीका कार्यक्रमहरू गर्नुपर्ने दायित्व बढेको छ। त्यहीअनुुसार हामी काम गर्न खोजिरहेका छौं।’

प्रकाशित: ९ वैशाख २०७९ ०१:११ शुक्रबार