समाज

बाटो निर्माणको विवादमा कुटिए वडाध्यक्ष

जीतपुर सिमरा उपमहानगरपालिका–२३ बलुवा टोलमा बाटो निर्माण गर्ने क्रममा मंगलबार राती दुई पक्षबीच विवाद हुँदा वडा अध्यक्ष कुटिएका छन्।

वीरगन्ज–पथलैया व्यपारिक मार्गमा टोलको मूख्य बाटोलाई जाेड्ने क्रममा वडा अध्यक्ष असलम देवान र मुस्तकिम अन्सारी पक्षबीच झडप भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक युवराज तिमिलसिनाले बताएका छन्।

दुई पक्षबीच भएको झडपमा वडा अध्यक्ष देवानसहित ६ जना घाइते भएका उनले बताए। झडपमा वडा अध्यक्ष देवान, नासिर र नाजिर देवान घाइते भएका छन्। उनीहरूको नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको बारा प्रहरीले जनाएको छ।

मुस्तकिम पक्षका चाँद महम्मद, अनु आरुल महम्मद र मुस्ताक अन्सारी पनि घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा बसरुदिन मिया, लाल महम्मद र अनिल महम्मदलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले बताए।

प्रकाशित: ७ वैशाख २०७९ ०७:२० बुधबार