समाज

होटलमा आगलागी, दमकलका ३ जना कर्मचारी घाइते

सोमबार मध्यराति विराटनगर–९ स्थित अस्पताल चोकमा रहेको होटल र पसलमा आगलागी भएको छ। राति सवा १२ बजेतिर २ वटा होटल, एउटा कपडा पसलका साथै अर्को एउटा किरान एवं भाँडा पसलमा आगलागी हुँदा ठूलो क्षति भएको मोरङ प्रहरीले जनाएको छ। आगलागीबाट १ करोड बढीको क्षति भएको प्रहरीले अनुमान गरेको छ।  

शोभादेवी घिमिरेको जग्गामा टिनको छानो लगाएर बनाइएको घरमा सञ्चालन गरिएका होटल तथा पसलमा जलेर पूर्ण रूपले क्षति भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए। घर आगलाली हुँदा ४० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।  

शोभादेवीका छोरा कुमारप्रसाद घिमिरेले सञ्चालन गरेको किराना पसल, विराटनगर–८ का छविलाल उप्रेतीको कपडा तथा भाँडा पसल, विराटनगर–७ का विनोद राजवंशीको न्यू राजवंशी होटल र विराटनगर–८ का दीपनारायण राजवंशीको दीपेश होटल आगोले पूर्ण क्षति भएको छ। 

घिमिरेको पसलभित्र रहेको नगद ५ लाख जलेको छ भने पसल जल्दा २० लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ। आगलागीका कारण उप्रेतीको पसलमा २५ लाख २७ हजार, विनोदको होटलमा १२ लाख र दीपनारायणको होटलमा ११ लाख बराबरको क्षति भएको अनुमान गरेको डिएसपी श्रेष्ठले बताए।

घर र पसलमा लागेको आगो नियन्त्रणमा लिने क्रममा दमकलका ३ जना कर्मचारी घाइते भए। विराटनगर–४ का ३७ वर्षीय भीम विष्ट, विराटनगर–२ का ३७ वर्षीय अशेष दाहाल र सुनसरी दुहबी–१२ का १९ वर्षीय प्रेमकुमार राजवंशी घाइते भएका र उनीहरुको विराटनगरस्थित म्याक्स अस्पतालमा उपचार भइरहेको छ। घाइते ३ जना सामान्य अवस्था रहेको जनाएको छ।  

आगलागीको कारण खुल्न नसके पनि पसल र होटल बन्द रहेको अवस्थामा राति विद्युत् सर्ट हुँदा आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ। ग्याँस सिलिण्डर विस्फोट हुन थालेपछि आगो झन् फैलिँदा नियन्त्रणमा लिन समस्या भएको थियो। दमकल, स्थानीय र प्रहरीको सक्रियतामा करिब डेढ घण्टापछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ६ वैशाख २०७९ ०९:४० मंगलबार