समाज

धादिङमा दुर्घटनाः एकको मृत्यु, १६ घाइते

पृथ्वी राजमार्गअन्तर्गत  धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा आज तीनवटा सवारी आपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा ४ ख २७०४ नम्बरको माइक्रोले ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको बा ९ च ७०३६ नम्बरको कारलाई ठक्कर दिई पुनः सोही दिशाबाट आउँदै गरेको ना ६ ख २०१४ नम्बरको ट्रकसँग ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए।

दुर्घटनामा तनहुँको दमौलीस्थित रत्नहरि अस्पतालमा कार्यरत २६ वर्षीया मुना गुरुङको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएकी उनको नर्भिक अस्पताल काठमाडौँमा उपचारका क्रममा मत्यु भएको हो। दुर्घटनामा तनहुँको दमौली घाँसेकुवा बस्ने ३४ वर्षीय बुद्धिसागर थापा, चितवनको माडी नगरपालिका ९ बस्ने ३५ वर्षीयकुमार सिंह भुजेल, माइक्रोका सहचालक व्यास नगरपालिका ४ बस्ने २८ वर्षीय नवीन ढकाल, व्यास नगरपालिका–३ बस्ने ३८ वर्षीय सिमा शाही ठकुरी, माइक्रोका चालक व्यास ११ बस्ने ४२ वर्षीय डम्बरबहादुर विक, लगायतको मलेखु सामुदायिक अस्पताल र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

दुर्घटनामा पछि राजमार्ग एक घण्टा अवरुद्ध भएकोमा सवारीसाधन पाखा लगाएपछि पुनःसञ्चालन भएको हो। घाइतेमध्ये तीनको अवस्था गम्भीर रहेको छ। रासस

प्रकाशित: ४ वैशाख २०७९ १५:४० आइतबार

पृथ्वी राजमार्ग दुर्घटना १६ जना घाइते