काठमाडौंको छाउनी मार्ग मर्निङ वाक गर्नेहरूका लागि प्यारो छ। आर्मी ब्यारेक र पूर्वराजपरिवारका सदस्यको बसोबास गर्ने स्थान भएकाले पनि यो क्षेत्र शान्त, हरियाली र रमणीय छ। सुरक्षाका हिसाबले निकै उपयुक्त छ।
चैत १३ देखि यो मार्ग मर्निङ वाकका लागि मात्र नभएर बालबालिका, युवा तथा ज्येष्ठ नागरिकका लागि योगाभ्यास, व्यायाम, जिम र खेलकुद गर्ने स्थलसमेत बनेको छ। जसको मुख्य कारण हो, वर्षौंदेखि पूर्वराजपरिवारकी सदस्य हेलेन शाहले हडपेको सार्वजनिक जग्गामा निर्माण गरिएको छाउनी भूकम्प स्मृति पार्क।
पार्क बनेपछि ज्येष्ठ नागरिक, बालबालिका र युवा सबैलाई खुसी मिलेको छ। घर नजिकै पार्कमा आएर शारीरिक क्षमताअनुसार व्यायाम गर्न पाउँदा आनन्द लागेको सुन्तली थापा मगर बताउँछिन्। ‘धेरै लामो दूरीसम्म हिँड्न सक्दिनँ तर डाक्टरले अलिअलि हिँड्नू भन्छन्,’ ६० वर्षीय सुन्तलीले भनिन्, ‘पार्क बनेको थाहा पाएपछि यहीं आएर घाँसे मैदानमा केहीबेर हिँड्छु। शरीर फुर्तिलो हुन्छ। स्वास्थ्य पनि राम्रो भइरहेको छ।’
पार्कमा बालबालिकादेखि ज्येष्ठ नागरिकले आ–आफनो उमेर र क्षमताअनुसारका व्यायाम र योगाभ्यास गर्छन्। पार्कमा पुग्दा ७६ वर्षीय बालकृष्ण श्रेष्ठ कम्मरको व्यायाम गर्ने मेसिनमा रमाइरहेको अवस्थामा भेटिए।
‘हामी ज्येष्ठ नागरिकका लागि यो पार्क वरदान साबित भएको छ,’ ७६ वर्षीय श्रेष्ठले भने, ‘हामी सुगर, प्रेसरका बिरामीलाई डाक्टरले हिँड्नुपर्छ भन्छन्। तर हामी लामो दुरीमा हिँड्न सक्दैनौं। अहिले घर नजिकै पार्क बनेर राम्रो भएको छ। हामी बुढाबुढी पार्कमा व्यायाम गर्न सबेरै आइपुग्छौं। चौरमा केहीबेर दुबोमा हिँड्छौं। केही बेर योगाभ्यास गर्छौं। स्वच्छ वातावरणमा सास फेर्छौं। चराचुरुंगीको मिठो स्वरले पनि मन आनन्द हुन्छ। त्यहाँ कम्मर, हात, खुटा, छाती, घुँडा लगायतको व्यायाम गर्छौं। शरीर फुर्तिलो र छरितो भएको महसुस हुन्छ। तीन घन्टा बिताएर घर फर्कन्छौं।’ उनले बेलाबखत नातिलाई पनि पार्कमा खेलाउन ल्याउने गरेको सुनाए।
अर्का ६६ वर्षीय रामप्रसाद श्रेष्ठले पार्क बनेपछि सबै उमेरका मानिसलाई व्यायाम गर्न सजिलो भएको बताए। ‘पार्क बनेपछि घरभित्र मात्र बस्ने ज्येष्ठ नागरिक रमाएर व्यायाम गर्न आउन थालेका छन्। पार्कको हरियाली र मनमोहक वातावरणले शरीर, मन र दिमाग समग्र स्वास्थ्यमा नै सकारात्मक सुधार आएको महसुस भएको छ। पार्कमा जिम गर्ने मेसिन पनि छ।’
६० वर्षीय विकासचन्द्र प्रधान पार्कको हरियो दुबोमा बसेर योगा गरिरहेको अवस्थामा भेटिए। उनी पत्नीसँगै थिए। ‘यहाँ आएपछि चराचुरुंगीको चिरबिर र मधुर आवाजले मनै फुरुंग हुन्छ,’ उनले भने, ‘हामी पार्कमा बिहानबेलुका नै आउँछौं। साँझ हातखुट्टा, पेट, छाती स्वस्थ्य राख्ने व्यायाम गर्छाैं।’
सांसद क्षेत्र विकास कोष र १५ वडाको गरी ५० लाख रुपैयाँ आर्थिक सहयोगमा छाउनी भूकम्प स्मृति पार्क निर्माण गरिएको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए। ‘भूकम्पबाट सबैभन्दा बढी १५ वडामा क्षति भएको र यस वडामा मृत्यु भएकाको सम्झनामा भूकम्प स्मृति पार्क बनाइएको हो,’ १५ वडाका अध्यक्ष रहेका डंगोलले भने, ‘पार्कले स्थानीय बासिन्दा लाभान्वित भएका छन्।’
उनले काठमाडौं महानगरपालिकाभित्र २०७९ सालभित्र ७० वटा पार्क बनाउने लक्ष्य रहेको बताए। ‘हामी २०७४ सालमा निर्वाचित भएपछि पहिलो काम नै हरियाली र सुन्दर काठमाडौं बनाउने लक्ष्य राखेका हौं,’ उनले भने, ‘हालसम्म हामीले ४५ वटा पार्क तथा आइल्यान्ड र खेलकुद मैदान बनायौं। सार्वजनिक जग्गा संरक्षण र हरियाली बढाउनु हाम्रो दायित्व हो।’
काठमाडौं महानगरपालिका पूर्वाधार विकास विभागका प्रमुख राम थापाका अनुसार सार्वजनिक जग्गाको संरक्षण र हरियाली तथा सुन्दर काठमाडौं बनाउने लक्ष्यअनुसार पाँच वर्षभित्र ७० पार्क, खेलकुद मैदान र आइल्यान्डका लागि कुल १ अर्ब बजेट निर्धारण गरिएको छ।
उनले भने, ‘निरोगी नागरिक र सुन्दर महानगर बनाउने लक्ष्यसहित पार्क निर्माण योजना अघि बढिरहेको छ।’ छाउनीमा पूर्वराजपरिवारकी सदस्य हेलेन साहले हडपेको डेढ रोपनी सार्वजनिक जग्गा सरकारका नाममा ल्याएर त्यहाँ पार्क बनाइएको थापाले बताए।
प्रकाशित: ४ वैशाख २०७९ ००:३८ आइतबार