समाज

हावाहुरीले किसानलाई क्षति

बुधबार राति आएको हावाहुरीले किसानको बसन्ते मकै बालीमा पुगेको क्षति। तस्बिरः पुष्पराज/नागरिक

बुधबार राति आएको हावाहुरीले कैलालीको मध्य क्षेत्रका किसान मर्कामा परेका छन्। एक्कासि रातिको समयमा आएको हावाहुरीले भित्र्याउन ठीक्क पारेको गहुँ बालीका साथै बसन्ते मकै तथा तरकारी बालीमा क्षति पुगेको छ।

मकैका घोगा लाग्नै लागेको समयमा आएको हावाहुरीले ढालिदिएको बताउँदै गौरीगंगा नगरपालिका–७, मट्कौनाका किसान चन्द्रदेव जोशीले भने,‘फागुनमा रोपेको मकै हलक्कै बाढेर फसल दिने समय भइरहेको थियो, एक्कासि आएको हावाहुरीले पूरै मकै ढलाइ दियो।’ हावाहुरीले बसन्ते मकैमा ठूलो क्षति पुगेको यहाँका किसान बताउँछन्।

‘व्यवसायिक रुपमा मकै खेती गरेको थिएँ,’ स्थानीय अर्का किसान रणबहादुर बमले भने,‘छाडा चौपायाबाट जोगाएको मकै यसपालि एक्कासि आएको हावाहुरीले ढालिदिएपछि क्षति भएको छ।’ ढलेका मकैका बोट ठाडो उठ्न नसक्दा कुहिने सम्भावना हुनुका साथै सुक्न सक्ने उनले बताए।

हावाहुरीकै कारण खेतमा काटेर राखिएको गहुँ बालीमा पनि क्षति पुगेको छ। खेतमा थ्रेसिङ गर्न राखिएको गहुँ भिजेको बताउँदै किसान रामसमझ चौधरीले भने,‘नयाँ वर्ष मनाउने भन्दै चैत मसान्तमा काटिएको गहुँ बाली थ्रेसिङ गरिएन, मसान्तकै राति हावाहुरीसँगै आएको वर्षातले गहुँका बाला भिजेका छन्।’

भिजेका गहुँ थ्रेसिङ गर्दा दाना टुक्रिने तथा गाई गोरुको लागि चाहिने भुसी पनि कुहिने सम्भावना हुने किसान बताउँछन्। हावाहुरीले वसन्ते मकै, तरकारी, फुलेका आँप, लिची, केरामा क्षति पुगेको छ। हावाहुरीले केरा खेतीमा पनि ठूलै क्षति पुगेको किसानहरु बताउँछन्।

स्थानीय वायूका कारण सुदूरपश्चिमका तराई क्षेत्रमा बुधबार राति हावाहुरीका साथै हल्का वर्षात भएको मौसम पूर्वानुमान महाशाखा काठमाडौंका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताइन्।

उनले भनिन्,‘स्थानीय वायूले बुधबार राति लुम्बिनी प्रदेशका साथै सुदूरपश्चिम प्रदेशमा बढी असर देखिएको थियो।’ स्थानीय ठाउँमा स्थानीय वायू सक्रिय भइ वर्षात गराउन सक्नुका साथै हावाहुरी निर्माण हुने गरेको उनले बताइन्।

‘खास गरी चैतदेखि जेठ अन्तिम सातासम्म स्थानीय वायूकै प्रभाव रहन्छ,’ उनले भनिन्,‘त्यसकै प्रभावका कारण कहाँ कतिबेला कस्तो मौसम हुन्छ थाहै हुँदैन।’ कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले हावाहुरीले क्षति पुगेका किसानले स्थानीय सरकारका रुपमा रहेको गाउँपालिका र नगरपालिकामा डाटा संकलन गर्ने लगाउनु पर्ने बताए।

उनले भने,‘बिदाको दिन भएर पनि हावाहुरीले कहाँ कति क्षति पुगेको छ भन्ने थाहा भएको छैन।’ क्षति भएको भएमा स्थानीय सरकारमार्फत् किसानलाई जान उनले सुझाव दिए।

प्रकाशित: २ वैशाख २०७९ १२:२० शुक्रबार

किसान मर्का कैलाली मकैका घोगा