समाज

गोदावरी नपा कैलालीका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार गोदावरी नगरपालिका, कैलालीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्ट र देवराज जोशी तथा इन्जिनियर र सव–इन्जिनियरसमेत ८ जना उपर गैरकानूनी लाभ तथा हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदातलमा मुद्दा दायर गरेको छ।  

आयोगद्वारा बुधबार जारी विज्ञप्ति अनुसार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्ट माथी स्पेसिफिकेसन तथा सम्झौतामा उल्लेख भए बमोजिम सुपरीवेक्षण गर्न, गुणस्तर कायम गर्न र यथार्थ कार्यको नाप जाँच गर्नका लागि सम्बन्धीत साईट इन्जिनियर/प्राविधिकलाई जिम्मेवारी नतोकी नापी किताबमा सही गरी सहमति जनाई गुणस्तरहीन बेस कोर्स र सब–बेस कोर्सको कार्य गराएको र प्रिमिक्स कार्यमा तोकिए बमोजिमको मोटाइको कार्य नगरी वास्तविक कार्यभन्दा बढी कार्यलाई स्तरयुक्त नाप देखाइ मूल्याङ्कनमा प्रत्यक्ष सहभागी ३६ लाख ९१ हजार ९ सय २२ रुपैयाँ बराबरको भष्ट्राचारको आरोप लगाइएको छ।

यसैगरी अर्का अधिकृत जोशी माथी पनि त्यही आरोपमा ४५ लाख २२ हजार ३ सय ६ रुपैयाँ भ्रष्टाचार गरको आरोप लगाइएको छ। सोही नगरपालिकाका तत्कालीन इन्जिनियर कुँवरले  ८२ लाख १४ हजार २ सय २९ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाइएको छ।

सब इन्जिनियर रामचन्द्र भण्डारीले २५ लाख १० हजार ४ सय ५७ रुपैयाँ, अर्का सब इन्जिनियर नरेन्द्र शाहीले १७ लाख ५६ हजार ५ सय १९ रुपैयाँ, तत्कालीन सब–इन्जिनियर राजेन्द्र भण्डारीले ३६ लाख ७ हजार १ सय ३९ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाइएको छ।  

यसैगरी प्राविधिक पूर्वाधार कार्यालयमा कार्यरत ल्याब टेक्निनियन धनबहादुर विष्टले गुणस्तरहीन बेस कोर्स र सब–बेसकोर्सको कार्यलाई स्तरयुक्त कार्य देखाउन टेष्ट रिपोर्ट बनाई गलत प्रतिवेदन पेश गरी ७४ लाख ४१ हजार ८ सय ५५ रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि भएको आयोगको विज्ञप्तिमा जनाइएको छ।

निर्माण व्यवसायी डम्बर चन्दले सम्झौता बमोजिम बेस कोर्स र सब–बेसकोर्सको गुणस्तरीय कार्य गर्नुपर्नेमा सो नगरी गुणस्तरहीन कार्य गरेको र प्रिमिक्स कार्यमा तोकिए बमोजिमको मोटाईको कार्य नगरी वास्ताविक कार्य सम्पादनभन्दा बढीको नापी पेश गरी भुक्तानी लिइ ८२ लाख १४ हजार २ सय २९ रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि भएको र यसमध्ये ७ लाख ८० हजार १ सय ९२ रुपैयाँ गोदावरी नगर पालिकाको आन्तरिक राजस्व खातामा जम्मा गरेकोले ७४ लाख ३४ हजार ३७ रुपैया  विगो कायम गरी भष्ट्राचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन मागदावी लिने साथै सोही ऐनको दफा ८ को उपदफा (४) वमोजिम बिगो असुलउपर हुन समेतको मागदावी गरिएको छ।

प्रकाशित: ३० चैत्र २०७८ १३:२८ बुधबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोग गोदावरी नगरपालिका कैलाली