समाज

भारतीय नागरिक मानव अंगसहित पक्राउ

नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत विराटनगर–१५ स्थित भन्सारको १ नम्बर ढाटबाट भारतीय नागरिकलाई मानव अंगसहित प्रहरीले पक्राउ गरेको छ।

मंगलबार पौने १२ बजेतिर भारततर्फ जाँदै गर्दा भारतीय नागरिक २६ वर्षीय आदित्य सिन्हालाई मानव अंगसहित सशस्त्र प्रहरीले पक्राउ गरेको हो। भारत विहारको पूर्णिया नगर पञ्चायलत घर भएका सिन्हालाई सशस्त्र प्रहरी बल विओपी (बोर्ड आउट पोस्ट) रानीका प्रहरी निरीक्षक प्रभातकुमार गौतम नेतृत्वको टोलीले पक्राउ गरेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले बताए।

‘रिक्सामा चढेर भारतको जोगबनीतर्फ जाँदै गरेको सिन्हालाई शंका लागी चेक गर्दा मानव अंग फेला परेको हो,’ एसपी लामिछानेले भने, ‘एउटा कार्टनभित्र प्याक गरी मानव शरीरका विभिन्न अंगमा भारत लैजाँदै गर्दा पक्राउ गरेका हौं।’ पक्राउ परेका सिन्हाको साथबाट मानव खप्पर १, खुट्टाको नली हड्डी ३, हाडको हड्डी ६, करङ ७, बंगाराको हड्डी १, काँधको हड्डी २, घाँटीको हड्डी १, हिपको हड्डी १, ढाडको हड्डी ८, औंलाको हड्डी ८ र कुर्कुचाको हड्डी ८ वटा बरामद भएको एसपी लामिछानेले जानकारी दिए। सन् २०१६ सेप्टेम्बरमा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट जारी गरिएको परिचयपत्र सिन्हाको साथमा रहेको र त्यसका आधारमा उनी चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थी रहेको हुन  सक्ने सशस्त्र प्रहरीले अनुमान गरेको छ। विपीमा एमविविएसमा अध्ययनरत रहेको र साथीले मानव अंग अध्ययनका लागि दिएको हुँदा अध्ययन सकेर घर फर्किंदा साथ लगेको पक्राउ परेका सिन्हाले बताए।

२०७८ साल असोज १८ गते विराटनगर–१५ स्थित भन्सार क्षेत्रबाट मानव अंगजस्तो देखिने वस्तु सशस्त्र प्रहरीले बरामद गरेको थियो। नेपाली नम्बरको को २ च ९६४८ नम्बरको गाडीमा भारतबाट नेपाल ल्याउँदै गर्दा मावन खप्परका टुक्रा जस्तो २८ पिस, नली खुट्टा र हातको हड्डी जस्तो देखिने वस्तु १० पिस बरामद भएको थियो। बरामद गरिएको वस्तु के हो भनेर परीक्षणका लागि पठाइए पनि त्यसको रिपोर्ट अहिलेसम्म प्राप्त नभएको प्रहरीले जनाएको छ। गाडी चालक विराटनगर–१७ का विनोद राय र झापाको दमक नगरपालिका–५ का ४३ वर्षीय युवराज कार्कीविरुद्ध प्रहरीले अभद्र व्यवहार मुद्दा चलाएको र उनीहरू धरौटीमा छुटिसकेको प्रहरीले जनाएको छ।

एसपी लामिछानेले पक्राउ परेका सिन्हा विद्यार्थी हुन् वा होइनन् र बरामद भएको मानव अंगबारे थप अनुसन्धान तथा आवश्यक कारबाही नेपाल प्रहरी (जनपथ)ले गर्ने हुँदा इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको छ।

प्रकाशित: ३० चैत्र २०७८ ००:४९ बुधबार

नेपाल–भारत सीमा क्षेत्र थप अनुसन्धान तथा आवश्यक कारबाही पक्राउ परेका सिन्हा