समाज

जनकपुरमा आज चैती छठ पर्व

मधेस प्रदेशका जनकपुरसहित विभिन्न ठाउँमा आज चैती छठ पर्व मनाइँदैछ। मंगलबारदेखि विधिवत रूपमा सुरु भएको चैती छठ पर्वको आज तेश्रो दिन हो।

अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य दिँदै भोलि बिहान उदाउँदो सूर्यको अर्घ्य दिएपछि सम्पन्न हुनेछ। जनकपुरधामको गंगासागर, अंगराजसर सागर, धनुष सागर लगायत विभिन्न जलासयहरुमा छठ पर्व मनाउने व्रतालु महिलाहरुको भिड लागेको छ।

दिउँसैदेखि घरबाट पूजाको सामग्री पोखरीको घाटमा जम्मा गरी उनीहरू सूर्य अस्ताउने प्रतीक्षामा छन्। चैती छठ चार दिनसम्म मनाइने गरिन्छ। पर्वको पहिलो दिन नुहाइ चोखो खाना खाएर पर्व सुरु गरिन्छ। पञ्चमीका दिन खरना पर्व मनाइन्छ।

सूर्य अस्ताउनु भन्दा पहिलेदेखिनै व्रतालुहरु पोखरीमा प्रवेश गरी खष्ठीमाताको पूजा गर्दै सूर्य देवलाई अर्घ्य दिइन्छ। अर्घ्यमा विभिन्न प्रकारका फलफूल चढाउने परम्परा छ। सन्ध्या अर्घ्यपछि रातभरि व्रतालुहरु जागरण बसि भोलिपल्ट चैत्र सुक्ल सप्तमी तिथीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्वको सम्पन्न गरिन्छ।

धार्मिक मान्यता अनुसार चैती छठ पर्व गर्नाले सोचेको मनोकामना पूरा हुने शरीरमा हुने चर्म रोग निको हुने, सन्तान प्राप्त हुने विश्वास रहेको छ।

प्रकाशित: २४ चैत्र २०७८ १०:५३ बिहीबार

मधेस प्रदेश जनकपुर चैती छठ पर्व