दुर्गममा जिल्लामा कर्मचारी आउन इन्कार गर्ने गरेको पाइएको छ। दुर्गम जिल्लामा सरुवा भए पनि उनीहरूले आउन इन्कार गर्ने गरेका हुन्।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले तयार गरेको स्थानीय तहको संगठनात्मक ढाँचा तथा दरबन्दीअनुसार राजपत्रांकित द्वितीय श्रेणी उपसचिव १०औं तहको कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था भए पनि अहिले कालिकोटका स्थानीय तहहरूमा निमित्तले चलाउने गरेका छन्।
कालिकोटका सबै स्थानीय तह निमित्तकै भरमा जसोतसो सञ्चालन भइरहेका छन्। जिल्लाका तीन नगरपालिका र ६ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत छैनन्। सबैमा निमित्तले प्रमुख प्रशासकीय अधिकृतको काम गरिरहेका छन्। उपसचिवको दरबन्दी भएका तीन नगरपालिकामा प्रशासनतर्फका समेत कर्मचारी नभएर कुनैमा पशुसेवाका प्राविधिक त कुनैमा शिक्षा र स्वास्थ्य क्षेत्रका कर्मचारीलाई नगरपालिका सञ्चालनको जिम्मेवारी तोकिएको छ।
रास्कोट नगरपालिकामा पशुसेवाका आठौं तह प्राविधिक तहका कर्मचारी जवानसिहं बमले लामो समयदेखि नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिरहेका छन्। यस्तै खाँडाचक्र नगरपालिकामा शिक्षा शाखाका प्रमुख जसिप्रसाद चौलागाईं र तिलागुफा नगरपालिकामा स्वास्थ्य क्षेत्रका सातौं तहका अधिकृत लक्ष्मणप्रसाद चौलागाईंले प्रमुख प्रशासकीय अधिकृत चलाएका छन्।
पलाँता गाउँपालिकामा पशुसेवाकै प्राविधिक छैटौं तहका कर्मसिंह बमले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिएका छन्। एमालेनिकट कर्मचारीमा आस्था राख्ने बमलाई गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले माओवादी केन्द्रको पार्टी सदस्यताको रसिद काट्न लगाएर प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिएका हुन्।
यस्तै सान्नीत्रिवेणी गाउँपालिकामा पनि पशु प्राविधिक छैटौं तह नेत्रबहादुर शाही प्रमुख प्रशासकीय अधिकृत छन् भने नरहरिनाथ गाउँपालिकामा पनि छैटौं तहका कविराज न्यौपानेलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकिएको छ। शुभकालिकामा केन्द्रबहादुर शाही छैटौं तहका छन्। गाउँपालिका अध्यक्ष खाडानन्द चौलागाईंले सुगममा बस्न बानी परेका कर्मचारी दुर्गममा आउन नमान्ने भएकाले निमित्तकै भरमा स्थानीय तह चलाउनुपरेको बताए। यस्तै महावै गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत गणेशमान सिंह छैटौैं तहका कर्मचारी छन्।
पचालझरना गाउँपालिकामा पनि पशु सेवातर्फका छैटौं तहका अधिकृत वीरेन्द्रबहादुर बमलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकिएको छ। रास्कोट नगरपालिका, पलाँता, सान्नीत्रिवेणी, पचालझरना गाउँपालिका गरी चार स्थानीय तह पशुसेवातर्फका प्राविधिकले चलाइरहेका छन् भने बाँकीमा छैटौं तहका कर्मचारीले स्थातानीय तह हाँकिरहेका छन्। विगत एक वर्षदेखि कालिकोटका स्थानीय तह निमित्तका भरमा छन्। नगरपालिकामा उपसचिव र गाउँपालिकामा अधिकृत त्यो पनि प्रशासनतर्फकाले प्रमुख प्रशासकीय अधिकृत भएर कामकाज गर्ने व्यवस्था छ।
शिक्षा कार्यालय पनि निमित्तकै भरमा
कालिकोट जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय पनि अहिले निमित्त कार्यालय प्रमुखको भरमा चलिरहेको छ। कार्यालय प्रमुखको एक महिनाअघि बर्दिया सरुवा भएपछि कार्यालय निमित्तकै भरमा चलिरहेको हो। कर्मचारी आउनै नमान्दा आफूले अफिस चलाउनुपरेको निमित्त कार्यालय प्रमुख प्रकाश चन्द्र धितालले बताए। दुर्गममा कर्मचारीलाई दुर्गम भत्ताको व्यवस्था गरेको भए पनि कर्मचारी नआउने गरेको उनको भनाइ छ।
प्रकाशित: २४ चैत्र २०७८ ०५:३३ बिहीबार