समाज

मापदण्दविपरीतको सडकमा दुर्घटना हुँदा दुईको मृत्यु

इन्जिनियरिङ मापदण्डविपरीत बनेको सडकमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्। डोटीको पूर्वी चौकी गाउँपालिका–३ को साजघाटबाट गैरागाउँ जोड्ने सडकमा जिप दुर्घटनामा परेको हो।

साजघाटबाट गैरागाउँतर्फ जान लागेको से१ज ८३९ नम्बर जिप आइतबार साँझ करिब ७ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। मृत्यु हुनेमा पूर्वी चौकी–३ का २८ वर्षीय खेम बोहरा र सोही ठाउँका ४५ वर्षीय पुरन बोहरा रहेका छन्।

यस्तै घाइते हुनेहरूमा पूर्वीचौकी–३ कै १४ वर्षीया यशोदा बोहरा, ७ वर्षीय मोहन बोहरा, ३५ वर्षीय कम्मरसिंह बोहरा, २८ वर्षीय टंकी बोहरा, ३५ वर्षीय कृष्णवहादुर चयडा, ३४ वर्षीय जित बोहरा र वर्षीय लोकराज जोशी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेको जिप सडकबाट झन्डै ६ सय मिटर तल साजघाट खोलामा खसेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक (डिएसपी) भोलाकुमार भट्टले जानकारी दिए। उनका अनुसार घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ। तीनजना सामान्य छन्। यो समाचार तयार पार्दासम्म सात घाइतेमध्ये ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइसकिएको थियो। एकजना बाटोमा थिए ।

साजघाट–गैरागाउँ सडक डोटी जिल्लामा इन्जिनियरिङ मापदण्डविपरीत बनेको विवादित शाखा सडक हो। जुन एकदमै भिरालो ठाउँमा ठाडो रूपमा बनेको छ। जिल्ला सदरमुकाम सिलगढीदेखि अछामतर्फ जाने बाटोबाट त्यो सडक हेर्दा निकै ठाडो र डरलाग्दो देखिन्छ। यो सडक झन्डै एक दशकअघि जिल्ला विकास समिति डोटीको बजेटमा निर्माण भएको थियो।

बिनासर्भे मापदण्डविपरीत सडक बनेपछि जिल्लास्तरमा व्यापक विरोध भएको थियो। त्यसपछि जिल्ला प्राविधिक कार्यालयले केही समय त्यसको बिल उठाएको थिएन। पछि राजनीतिक पहुँचका आधार त्यो सडक पास भयो। त्यही डरलाग्दो सडकमा सबैको अनुमान सही साबित गर्दै आइतबार दुर्घटना निम्तिएको छ ।

प्रकाशित: २१ चैत्र २०७८ ०१:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App