समाज

ओरेक ३१औं वार्षिक उत्सव: अभियानको शुभारम्भ

ओरेक रुकुमको आयोजनामा ओरेक दिवस तथा ‘महिलाको समानुपातीक समावेशी नेतृत्वको अधिकार सामाजिक रुपान्तरणको आधार’ राष्ट्रिय अभियानको शुभारम्भ गरिएको छ।

शनिबार ३१ वर्ष पुगेको अवसरमा ३१ वटा दिप बालेर अभियानको शुभारम्भ गरिएको थियो। स्थानीय जनप्रतिनिधि, सरोकारवाला, महिला अधिकारकर्मी, पत्रकार, स्थानीय महिला लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा ओरेक रुकुमका जिल्ला संयोजक दिपा धितालले कार्यपत्र प्रस्तुत गरेकी थिइन।

अभियानको औपचारिक शुभारम्भ गर्दै मुसिकोट नगरपालिकाका मेयर देविलाल गौतमले अभियान प्रति आफ्नो एक्यवद्धता रहेको जनाए। ‘द्वन्द्वको थलोमा गतिलो काम गरेको कारण ३१ वर्ष मनाउन पाएको हो। महिला अधिकारका सवालमा हामी जिम्मेवार छौ। तपाईंहरु सशक्तिकरणमा लाग्नुस हामी साथ दिने छौं।’

३१ औ स्थापना दिवसको अवसर पारेर ओरेक रुकुमले शुक्रबार कार्यालय परिसरमा विभिन्न संगालोहरु राखि प्रदर्शनी गरेको थियो। उक्त प्रदर्शनीमा सरोकारवाला, विद्यालयका विद्यार्थीहरु, महिला मानव अधिकार रक्षक सञ्जाल, मानव अधिकार सञ्जालका व्याक्तिहरुले अवलोकन गरेका थिए।

ओरेक जिल्ला संयोजक धितालका अनुसार आगामी निर्वाचनमा महिला प्रतिनिधित्व सुनिश्चितताका लागि आइतबार सदरमुकाममा राजनीतिक दलहरुसँग अन्तरक्रिया कार्यक्रम पनि गरिने छ।

प्रकाशित: २० चैत्र २०७८ ०३:४५ आइतबार

ओरेक ३१औं वार्षिक उत्सव अभियान