समाज

साहित्यकार सुबेदी र क्रिकेटका मल्ललाई ‘प्रतिभा विशेष सम्मान’

‘प्रतिभा विशेष व्यक्तित्व सम्मान ग्रहण गर्दै प्राडा अभी सुबेदी र ‘प्रतिभा वर्ष सम्मान’ ग्रहण गर्दै क्रिकेटका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल। तस्बिरः सन्देश श्रेष्ठ/नागरिक

साहित्यकार प्रा.डा.अभी सुबेदी पोखरामा ‘प्रतिभा विशेष व्यक्तित्व सम्मान’बाट सम्मानित भएका छन्। पोखराको प्रतिभा माविले वार्षिक रुपमा प्रदान गर्दै आएको ‘प्रतिभा वर्ष सम्मान’ अन्तर्गत यस वर्ष सुबेदीलाई सम्मान गरेको हो।  

कार्यक्रममा विद्यालय संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेल, विद्यालयका प्रबन्ध निर्देशक बलबहादुर थापा, निर्देशक राजेन्द्र चापागाँइ, प्राचार्य विश्वगोपाल पराजुली लगायतले सुबेदीलाई नगद एकलाख रुपैयाँसहित सम्मान गरेका थिए।

सुबेदीले ६० वर्षदेखि कला र साहित्य तथा शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरुप सम्मान गरिएको विद्यालयले जनाएको छ। सुबेदीले नेपाली तथा अंग्रेजी भाषामा कविता रचना, साहित्य समीक्षा र नाटक लेखन गर्दै आएका छन्। त्यस्तै उनी विगत ५० वर्षदेखि उच्च शिक्षा क्षेत्रमा प्राध्यापनरत छन्।

कार्यक्रममा नेपाली क्रिकेटका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई नगद एकलाख राशीकै ‘प्रतिभा सम्मान’बाट सम्मानित गरिएको छ। उनलाई क्रिकेट खेलमा पुर्‍याएको विशिष्ट योगदानको कदर स्वरुप ‘प्रतिभा वर्ष सम्मान–२०७८’बाट सम्मान गरिएको हो।  

यसैबीच, विद्यालयले सोहि विद्यालयकी छात्रा सीमा केसीलाई ‘प्रतिभा रत्न सम्मान’बाट सम्मान गरेको छ। ‘वर्ल्ड इकोनोमिक कप’मा काँश्य पदक जितेकी उनलाई विद्यालयले ‘प्रतिभा रत्नबाट सम्मान गरेको हो।

कार्यक्रममा विद्यालयको वार्षिक परीक्षा तथा वर्षभरी भएका विभिन्न प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान प्राप्त गरेका विद्यार्थीलाई पुरस्कृत गरिएको थियो। साथै विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।

प्रकाशित: १९ चैत्र २०७८ ०८:२५ शनिबार

प्रतिभा विशेष सम्मान