समाज

सरकारले बढुवा गरेकै दिन सर्वोच्चमा रिट दर्ता

सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा तीनजनालाई बढुवा गर्ने निर्णय गरेकै दिनमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

बिहीबार बिहान मन्त्रिपरिषद् वैठकले तीनजना प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंह, वसन्तकुमार पन्त र रवीन्द्रबहादुर धानुकलाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो।

सरकारको निर्णय रोक्न अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता भएको हो। रिट निवेदनमा आइतबारका लागि पेसी तोकिएको छ। पेसीमाथि प्रारम्भिक सुनुवाई भएपछि सर्वोच्चले अन्तरिम आदेश दिने नदिने निर्णय गर्नेछ।

बरिष्ठलाई छोडेर कनिष्ठलाई बढुवा गरेको भन्दै डिआइजी ईश्वरबाबु कार्की, घनश्याम अर्याल, प्रकाशजंग कार्कीले निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन्।

यही चैत १ मा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा बढुवा सिफारिस समितिले वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई बढुवाका लागि सिफारिस गरेको थियो। सर्वोच्च पुगेका तीनैजनाले आफूभन्दा कनिष्ठलाई एआइजी बनाउन सिफारिस गरेको भन्दै बढुवाको उजुरी सुन्ने समितिमा उजुरीसमेत दिएका थिए।

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी रहेको उजुरी सुन्ने समितिमा तीनैजनाले उजुरी दिएका थिए। समितिले बढुवा सिफारिस समितिको निर्णयलाई सदर गरेको थियो। त्यसपछि सरकारले तीन जनालाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो।

प्रकाशित: १८ चैत्र २०७८ ०३:५९ शुक्रबार

सर्वोच्च अदालत