समाज

बलात्कृत भएको उजुरी दिने युवतीलाई नै साढे ३ वर्ष कैद

अछाममा बलात्कृत भएको उजुरी दिने युवतीलाई जेल चलान गरिएको छ। अछामको कमलबजार नगरपालिकाकी १९ वर्षीया युवतीलाई जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीको इजलासले साढे तीन वर्षको कैद सजायको फैसला गरेको हो।  

युवतीले माघ १५ गते राति आफ्नै घरमा विवाहका लागि माग्न आएका रामारोशन गाउँपालिका–४, का २० वर्षीय नन्दराम खनालले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्। त्यस दिन बेलुकीको खाना खाएपछि युवती र उनकी बहिनी खटियामा र ती युवक उही कोठाको भुइँमा सुतेका थिए। युवतीले बहिनी सुतेपछि खटियाबाट तल तान्दै बलात्कार गरेको प्रहरीले तयार पारेको मुचुल्का बयानमा उल्लेख छ। तर, युवकले भने बहिनी सुतेपछि खटियाबाट तल बोलाएर सहमतिमै यौन सम्पर्क गरेको बयान दिएका छन्।

मेडिकल रिपोर्टमा शरीरमा अन्य चोटपटक नलागेको र ‘कन्या जाली’ च्यातिएको उल्लेख छ। युवतीले अदालतमा सहमतिमै शारीरिक सम्पर्क भएको बयान दिएकाले उनलाई साढे ३ वर्ष जेल सजाय सुनाइएको छ भने युवकलाई सफाई दिइएको छ। युवतीले भने विवाह गर्छु, तिमीले बयान फेर भनेकै कारण आफूले बयान फेरेको बताएकी छिन्।  

अछाम प्रहरीका अनुसार युवकले तत्काल विवाह नगर्ने भनेपछि रिसको आवेगमा युवतीले बलात्कारको उजुरी दिएर फसाउन खोजेकी थिइन्। तर, झुटो आरोप लगाएको पुष्टि भएपछि युवतीलाई अदालतले कैद फैसला गरेको बताइएको छ। ती युवतीले युवकले गत माघ १५ गते राति आफ्नै घरमा बलात्कार गरेको भन्दै माघ १७ गते प्रहरीमा उजुरी दिएकी थिइन्।

झुटा मुद्दामा फसाउने प्रयत्न गरेबापत मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ दफा २१९ अनुसार तीन वर्ष ६ महिना कैद हुने ठहर जिल्ला अदालत अछामले गरेको छ।

प्रकाशित: १७ चैत्र २०७८ १३:०९ बिहीबार