समाज

बाँकेमा थपिए ८१ हजार मतदाता

बाँकेमा पाँच वर्षको अवधिमा ८१ हजारभन्दा बढी मतदाता थपिएका छन्। २०७४ को निर्वाचन ताका जिल्लामा दुई लाख ४८ हजार चार सय ३४ मतदाता रहेकोमा आसन्न निर्वाचनका लागि तीन लाख २९ हजार चार सय ७३ मतदाता पुगेका छन्।  

वैशाख ३० गते हुने निर्वाचनमा सबैभन्दा धेरै मतदाता नेपालगन्ज उपमहानगरपालिकामा रहेका छन् भने सबैभन्दा कम नरैनापुर गाउँपालिकामा छन्। नेपालगन्जमा ८१ हजार सात सय ९४ मतदाता रहेकोमा नरैनापुरमा १८ हजार पाँच सय ९९ मतदाता रहेका छन्। यसैगरि कोहलपुर नगरपालिकामा ५६ हजार सात सय ९७, बैजनाथ गाउँपालिकामा ४५ हजार एक सय २३, राप्तीसोनारी गाउँपालिकामा ४४ हजार आठ सय १२, खजुरा गाउँपालिकामा ३७ हजार दुई सय ६४, जानकी गाउँपालिकामा २२ हजार आठ सय २९, डुडुवा गाउँपालिका २२ हजार दुई सय ५५ जना मतदाता रहेका छन्।  

२०७४ कोभन्दा २०७९ मा सबैभन्दा धेरै नेपालगन्ज १८ हजार आठ सय ८६ मतदाता थपिएका छन् भने त्यसपछि कोहलपुरमा १८ हजार आठ सय ४५, बैजनाथ १२ हजार तीन सय ३१, राप्तीसोनारीमा १० हजार ६ सय ६५ जना मतदाता थपिएका छन्। जानकीमा चार हजार सात सय २८, खजुरा सात हजार पाँच सय ७१, डुडुवा चार हजार पाँच सय ७७ र नरैनापुरमा तीन हजार पाँच सय ५६ जना मतदाता थपिएका छन्। राष्ट्रिय जनगणना २०७८ अनुसार बाँके जिल्लाको जनसंख्या ६ लाख ३ हजार ३ सय ९३ पुगेको छ। उक्त जनसंख्याका आधारमा अहिले रहेका मतदाताको संख्या ५४.६ प्रतिशत हो। कुल जनसंख्याको आधाभन्दा केही बढी जनसंख्याले मात्रै स्थानीय निर्वाचनमा मत हाल्ने भएका छन्।  

थपिए ८४ मतदान केन्द्र

बाँकेमा पहिलो स्थानीय निर्वाचन २०७४ को बेलाको भन्दा आसन्न स्थानीय निर्वाचनका लागि ८४ वटा मतदान केन्द्रहरु थपिएका छन्। मतदाताको संख्या बढेसँगै मतदान केन्द्रहरुको संख्या बढाइएको छ। मतदानस्थलहरुको संख्या भने यथावत छ। अघिल्लो स्थानीय निर्वाचनमा एक सय ३६ मतदानस्थलमा दुई सय ९५ मतदान केन्द्रहरु रहेकोमा आसन्न निर्वाचनमा तीन सय ७९ वटा केन्द्रहरु रहने निर्वाचन आयोगले तय गरेको छ।

प्रकाशित: १५ चैत्र २०७८ १३:१४ मंगलबार