समाज

एउटा गाउँपालिका भवनको दुई ठाउँमा शिलान्यास

पर्साको सखुवाप्रसौनी गाउँपालिकामा उपप्रमुख फुलकुमारी थरुइनको नेतृत्मा शिलान्यास हुँदै। पर्साको सखुवाप्रसौनी गाउँपालिकामा पूर्व उप्रधानमन्त्री उपेन्द्र यादवको हातबाट शिलान्यास हुँदै। तस्विरः नागरिक

पर्साको सखुवा प्रसौनी गाउँपालिकाको कार्यालय भवन निर्मणको लागि दुई ठाउँमा बेग्लाबेग्लै शिलान्यास कार्यक्रम भएको छ। गाउँपालिका प्रमुख प्रदिप जयसवालले आफ्ना आमा–बुवाको नाममा जग्गा दानगरी त्यसमा भवनको शिलान्यास गराउने तय गरेको कार्यक्रमकै दिन सोमबार अरु दलबाट निर्वाचित जनप्रतिनिधिहरुले त्यसभन्दा अगावै अर्को ठाउँमा शिलान्यास गरेका छन्।

तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित जयसवालले अहिले जनता समाजवादी पार्टी भएको उनका दलका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा शिलान्यास कार्यक्रम तय गरेका थिए। पूर्व उपप्रधानमन्त्री समेत रहेका प्रमुख अतिथि यादव पुग्नु अगावै बिहान अर्को ठाउँमा शिलान्यास गाउँपालिकामा सोही पार्टीबाट निर्वाचित उपप्रमुख फुलकुमारी थरुइनको नेतृत्मा सम्पन्न भइसकेको थियो। गाउँपालिका प्रमुख प्रदिप जयसवालले आफ्ना समर्थकहरुसहित अर्को कार्यक्रम गराए। गाउँपालिकामा जयसवाल र उपप्रमुख थरुइनबीच पछिल्लो समयमा देखिएको द्वन्द्व अहिले गाउँपालिकाको भवन निर्माणस्थललाई लिएर पनि यथावत छ।  

गाउँपालिकाकै स्वामित्वमा करिब ९ कट्ठा रहेको श्रीपुर पँचगाँवास्थित ऐलानी जग्गामा उपप्रम्ख थरुइनले गरेको शिलान्यास कार्यक्रममा सर्वदलीय उपस्थिती रहेको नेकपा एमालेका स्थानीय नेता जसवन्त यादवले बताए। सोही ठाउँमा भवन बन्नुपर्ने आम जनताको समेत राय रहेको उनले दावी गरे। उक्त कार्यक्रममा नेपाली काँग्रेसका गाउँपालिका अध्यक्ष जयराम महतो लगायतका नेताहरुको पनि अग्रसरता देखियो। स्थानीयका अनुसार सर्वदलीय सहभागिता शिलान्यास गरिएको ठाउँ तुलनात्मक रुपमा पायेक छ।  

पालिकाका मुख्य सडकछेउमा रहेको त्यस जग्गामा सशस्त्र माओवादी बिद्रोहको समयमा नेपाली सेनाको ब्यारेक राखिएको थियो। पँचगावाँ बजार, उच्च माध्यमिक विद्यालय, सभा समारोह हुने स्थलको रुपमा रहेको चउर बिभिन्न वडा जोड्ने सडक संजालको मिलनबिन्दु रहेकोले आफूहरुले रोजेको ठाउँ प्रशासनिक भवनको लागि सबभन्दा उपयुक्त रहेको यादवले दावी गरे। गाउँपालिका प्रमुख जयसवालले नेता उपेन्द्र यादवबाट शिलान्यास गराएको निजी जग्गा पनि ९ कट्ठा २ धुर रहेको छ। तर, तुलनात्मक रुपमा सो ठाउँ अलि भित्र रहेको स्थानीय नागरिक अगुवा बताउँछन्।  

उनीहरुको भनाईमा आगामी चुनाव नजिकिदै जाँदा गाउँपालिकामा राजनीतिक दलहरुबीच घम्साघम्सी मात्र बढेको छैन निर्वाचित जनप्रतिनिधिबीच पनि ध्रुवीकरण बढेको छ। पालिका प्रम्ख जयसवालले जग्गा बुवा रामेश्वर प्रसाद कलवार र आमा कलवाती देवीको नामबाट दान गरेर भवन बनाउने भएपछि नेकपा एमाले, नेपाली कांग्रेस लगायतका राजनीतिक दलका अगुवाले गाउँ कार्यपालिकाको कार्यालय सखुवा प्रसौनीमा तालाबन्दी गरेका थिए।

पूर्व उपप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका अध्यक्ष यादवको प्रमुख आतिथ्यतामा कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएपछि यसको बिरोध गर्नेहरुले आफूहरुले प्रस्तावित गरेको ठाउँमा अगावै शिलान्यास गरे। पूर्व उप्रधानमन्त्री उपेन्द्र यादवको हातबाट भएको शिलान्यास कार्यक्रममा सो पार्टीका साँसद प्रदीप यादव, जिल्ला अध्यक्ष रामनरेश यादव, नेता राजेशमान सिंह लगायतको उपस्थिती थियो।

प्रकाशित: १४ चैत्र २०७८ १३:५० सोमबार