समाज

ताप्लेजुङमा राडीपाखी बनाउने तालिम सुरु

‘एक जिल्ला, एक उत्पादन’ कार्यक्रम अन्तरगत ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ६ मा ४५ दिने राडीपाखी बुनाइ तालिम सुरु भएको छ। तालिमको जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले उद्घाटन गरेका छन्।

उनले सिकेको सीपलाई उपयोग गरेर साना उद्यम सृजनामा ध्यान केन्द्रित गर्ने हो भने यसले आत्मनिर्भर बन्न बाटो खुल्ने बताए। फुङलिङ नगर उपप्रमुख बमबहादुर भट्टराईले राडीपाखीका लागि कच्चा पदार्थको प्रसस्त सम्भावना भएको क्षेत्रमा नै यस सम्बन्धी तालिम सुरु भएकोमा प्रसन्नता व्यक्त गर्दै बजारीकरणसहितका अन्य सहयोगका लागि नगरपालिकाले छाती फराकिलो बनाउने जानकारी दिए।

उद्योग अधिकृत युवराज घोर्साईले सीप हस्तान्तरण, बजारीकरण र प्राविधिक सहयोगका लागि घरेलु कार्यालयले सक्दो सहयोग गर्ने वचन दिए। घरेलु तथा साना उद्योग व्यवसायी महासंघका सचिव हर्कराज गुरुङले जिल्लाकै पहिचान दिने चीजवस्तुको उत्पादनलाई लक्ष्य गरेर सीप हस्तान्तरण गर्न लागिएकोले तालिम प्रति सहभागीको लगाव महत्वपूर्ण हुने बताए।

तालिममा ३ लाख ५० हजार रुपैयाँ खर्च हुने घरेलु कार्यालयले जनाएको छ। उद्घाटन कार्यक्रम गुरुङ गुम्बा होमस्टे व्यवस्थापन समितिका अध्यक्ष पूर्णकुमारी गुरुङको अध्यक्षतामा भएको थियो।

प्रकाशित: १४ चैत्र २०७८ १२:५७ सोमबार