माघको अन्तिम साता सरकारी योजनामा बनाइएको संरचनालाई भत्काउने व्यक्तिलाई जिल्ला वन कार्यालय सुर्खेतले कार्बाहीका लागि जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरेको छ। वीरेन्द्रनगर नगरपालिका–६ स्थित घण्टाघरसंगै जोडिएर बनाएको दिनेश स्मृती पार्कमा रहेको निर्माण सामग्रीहरु भत्काएर सरकारी सम्पत्ति नोक्सानी गरेको मुचुल्का तयार पारि कार्बाहीको लागि डिभिजन वनले सिफारिस गरेको हो।
स्मृती पार्कमा दिनेश स्मृती प्रतिष्ठानका अध्यक्ष मनदत्त न्यौपानेले नै निर्माण सामग्री डोजर लगाएर लगेका थिए। सरकारी सम्पत्ति के कति कारणले व्यक्तिगत प्रयोजनमा लगेको भनेर अध्यक्ष न्यौपानेलाई वन डिभिजन कार्यालय सुर्खेतले स्पष्टीकरण सोधेको थियो। निर्माण सामग्री लगेको स्वीकार गरेका न्यौपानेलाई क्षति भएको रकम मूल्याकंन गरी कार्बाहीका लागि प्रशासनलाई सिफारिस गरिएको डिभिजन वन कार्यालयका अधिकारीहरु बताउँछन्।
डिभिजन वन कार्यालयका ईन्जिनियरलाई रविन महतको संयोजनमा क्षतिको मूल्याकंन गरी प्रतिवेदन पेश गर्न कार्यालयले खटाएको थियो। प्रतिवेदनमा १ लाख ४८ हजार २ सय ६६ रुपैयाँ सरकारी सम्पत्ति हानी नोक्सानी भएको उल्लेख छ। सोही रकम क्षतिपूर्ति भराउन समेत जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरिएको छ।
सरकारी सम्पत्ति खर्च गरी बनाइएको संरचना भत्काई लगेको सम्वन्धमा स्थलगत नापजाँच गरी क्षतिको एकीन विवरणसहित जिल्ला प्रशासन कार्यालयमा कार्बाहीका लागि सिफारिस गरिएको मुनबहादुर रावतले बताए।
प्रकृया नपुगी निर्माण भएको उक्त पार्क निर्माणाधीन अवस्थामै थियो। अहिले निर्माण कार्य रोकिएपछि प्रतिष्ठानकै अध्यक्ष तथा अगुवाहरुले व्यक्तिगत प्रयोजनमा सरकारी सम्पत्ति लगेका हुन्। पाईलट दिनेश न्यौपानेको सम्झनामा डिभिजन वन कार्यालय सुर्खेतको सहयोगमा २०६७/०६८ मा अनुदान रकममार्फत् ‘दिनेश स्मृती पार्क’ को संरचना बनाइएको थियो। पार्कमा बनाईएका संरचना भत्काई ढुंगा, ईटा र बालुवा झिक्ने क्रम नरोकिएको स्थानीयहरु बताउँछन्।
सुर्खेत उपत्यका नगर विकास समितिको स्वामित्वमा जग्गा प्राप्तीको अधिकारको प्रकृया नपुर्याइ पार्क निर्माण गर्न लागेपछि चौतर्फी विरोधपछि निर्माण कार्य रोकिएको थियो।
प्रकाशित: १३ चैत्र २०७८ १२:४९ आइतबार