समाज

फेरि सञ्चालनमा आउने भयो भक्तपुरमा फोहोर पानी प्रशोधन केन्द्र

दशकौपछि भक्तपुरको हनुमानघाटस्थित फोहोर पानी प्रशोधन केन्द्र फेरि सञ्चालनमा आउने भएको छ। झण्डै चार दशक अघिसम्म सञ्चालनमा रहेको भक्तपुर नगरपालिका वडा नं ७ हनुमानघाटस्थित प्रशोधन केन्द्र त्यसपछि वन्द रहेको थियो।  

काठमाडौं उपत्यका खानेपानी लिमिटेड अयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौं उपत्यका फोहोर पानी व्यवस्थापन आयोजनाले अहिले फेरि प्रशोधन केन्द्र सञ्चालनको तयारी थालेको हो। यसका लागि भक्तपुर नगरपालिका वडा नं. ७ को संयोजन रहने जनाइएको छ।  

आयोजनाका टोली उपप्रमुख प्रेम श्रेष्ठले फोहोर पानी प्रशोधन केन्द्र निर्माण कार्य सुरु भएको जनाए। उनका अनुसार प्रशोधन केन्द्रको क्षमता १० लाख लिटर प्रति दिन रहेको छ। साथै ११.५७ लिटर प्रति सेकेन्ड रहेको उनले जानकारी गराए।  

हनुमानघाट क्षेत्रमा नदीको जलस्तर उकास्न र वातावरणीय अवस्था सुधार्न नदीको तीन स्थानमा होचो बाँधसमेत निर्माण गरिने उनले बताए। उनले प्रशोधन केन्द्रको निर्माण ६ मार्च २०२२ बाट सुरु भई १५ महिनामा निर्माण सम्पन्न गर्ने योजना रहेको जनाए। निर्माण सम्पन्न भएपछि निर्माण कम्पनीले नै पाँच वर्ष सञ्चालन तथा मर्मत सम्भार गर्ने उनले बताए।

आयोजना प्रमुख चन्द्रकुमार पाँ श्रेष्ठले १ एम.एल.डी. क्षमता भएको फोहोर पानी प्रशोधन केन्द्र निर्माण गरिने जनाए। प्रशोधन केन्द्र एम.बी.बी. आर प्रविधिबाट सञ्चालन गरिने जानकारी उनले गराए। उनले हनुमानघाटस्थित पुरानो फोहोर पानी प्रशोधन केन्द्रको आधुनिकीकरण तथा क्षमता अभिवृद्धि गर्न यो आयोजना प्रस्ताव गरिएको बताए।  

प्रशोधन केन्द्र निर्माण कार्यको आइतबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरे। त्यस अवसरमा उनले स्थानीय तहको निर्वाचनमा भक्तपुर नपाको घोषणापत्रमा दुईवटा उपचार पोखरी पुनः सञ्चालन गर्ने उल्लेख गरेको बताउँदै हनुमानघाट फोहोर पानी प्रशोधन केन्द्र निर्माणपछि हनुमन्त्ते खोला सुधारसँगै सिंगो भक्तपुरकै स्वरुप फेरिने विश्वास व्यक्त गरे। प्रशोधन केन्द्रको काम इमानदारीपूर्वक निर्धारित समयभित्र कार्य सम्पन्न हुने आशा व्यक्त गर्दै उनले आयोजना सम्पन्न भइसकेपछि पनि तालिम प्राप्त जनशक्तिबाट यसको नियमित मर्मत सम्भार र सुपरीवेक्षण हुन जरुरी रहेको बताए।

भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले प्राचीन र ऐतिहासिक हनुमानघाट धार्मिक स्थल पनि भएको बताउँदै यस ठाउँमा निर्माण हुने फोहोर पानी प्रशोधन केन्द्र निर्धारित समयमा डिजाइनअनुसार निर्माण हुनेमा विश्वास गरे।

प्रकाशित: १३ चैत्र २०७८ १०:२३ आइतबार