समाज

चिटिक्क बन्यो बारपाक सुलिकोटको भवन

नयाँ बनेको गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको भवन। तस्बिरः नागरिक

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको प्रमुख प्रशासकीय भवन निर्माण भएको छ। भवनको शनिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले उद्घाटन गरेका हुन्। उक्त भवन विसं २०७१ साल फागुन १४ गते माओवादी अध्यक्ष दाहालले नै भवन शिलान्यास गरेका थिए।

उक्त भवन चार करोड ९५ लाख रुपैयाँमा निर्माण भएको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले बताए। यसअघि प्रिफ्याब भवनबाट सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले अब २१ कोठे सुविधा सम्पन्न भवनबाट सेवा दिनेछ। दानमा र केही सहुलियतमा ३९ रोपनी जग्गा गाउँपालिकाले लिएको छ। भवन बनेसँगै सेवाप्रवाहमा सजिलो हुने गाउँपालिका उपाध्यक्ष सनमाया गुरुङले बताइन्।

स्थानीय पूर्वाधार विकासको दुई करोड १५ लाख, गण्डकी प्रदेश सरकारको ५० लाख, जिल्ला समन्वय समितिको एक करोड १० लाख र बारपाक सुलिकोट गाउँपालिकाको एक करोड २० लाख लगानीमा भवन निर्माण पूरा भएको अध्यक्ष भट्टले बताए। नव कान्तिपुर कन्ट्रक्शनले उक्त भवन निर्माण गरेको हो।

भवन सँगै पाँचवर्षे अवधिमा गरेका विकास निर्माणका काम, तयार गरेका योजना र कार्यक्रमको बारेमा जानकारी गराएका थिए। दाहाल भवन उद्घाटन गर्न हेलिकप्टरबाट गोरखा आएका थिए। कार्यक्रममा उत्कृष्ट किसान, कर्मचारी, जग्गादाता र भवन निर्माणमा सहयोग गर्नेहरुलाई गाउँपालिकाले सम्मान गरेको थियो। साथै राष्ट्रिय स्तरका कलाकारले सांस्कृतीक प्रस्तुती देखाएका थिए। स्थानीयले झाँकी र्‍याली समेत प्रदर्शन गरे।

प्रकाशित: १३ चैत्र २०७८ ०६:४२ आइतबार