मोरङको लेटाङमा महिला प्रहरी उर्मिला श्रेष्ठको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्न ६ सदस्यीय समिति गठन गरिएको छ।
१ नम्बर प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेन्द्रकुमार चौधरीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले बताए। समितिमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी), १ नम्बर प्रदेश प्रहरी र जिल्ला प्रहरी मोरङको संयुक्त टोली रहेको छ।
चैत ६ गते राति लेटाङमा हिंसात्मक झडप हुँदा प्रहरी जवान श्रेष्ठको मृत्यु भएको थियो। आक्रमणकारीले घाँटीमा छुरा प्रहार गर्दा गम्भीर घाइते उनको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो।
घटनामा २९ प्रहरी र ७ जना सर्वसाधारण घाइते भएका थिए। समितिले छानबिनको काम थलिसकेको र यथाशीघ्र छानबिन गरी प्रतिवदेन बुझाउने प्रवक्ता राईले बताए।
प्रकाशित: ९ चैत्र २०७८ ११:३३ बुधबार