समाज

म्यादी प्रहरी बन्न युवाको लर्कोः ४० दिन काम, ४४ हजार पारिश्रमिक

सतहत्तरवटै जिल्ला प्रहरी कार्यालयअघि आइतबार भिड लाग्यो। त्यो भिड ‘४० दिने म्यादी प्रहरी’ मा आवेदन दिनेको थियो।

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी पनि खटाइने भएको छ। त्यसका लागि नेपाल प्रहरीले आइतबारदेखि आवेदन फाराम लिन सुरु गरेको छ। ४० दिने म्यादी जागिरको लालसा बोकेर जिल्ला प्रहरी कार्यालयहरूमा आवेदन दिन लाम लागेका युवाको भिडले देशमा बेरोजगारीको अवस्था छर्लंग पारिदिएको छ। ४० दिने म्यादी जागिरको लालसामा दुधेबालक काखीमा च्याँपेका महिलासमेत घण्टौं लाममा उभिएकोे देखियो।

नेपाल प्रहरी प्रधान कार्यालयले स्थानीय चुनावका लागि एक लाख म्यादी प्रहरी भर्ना गरिने सूचना चैत १ मा प्रकाशित गरेको थियो। सोही सूचनाअनुसार आइतबारदेखि आवेदन फाराम लिन सुरु गरिएको छ। यसका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले शुक्रबार (चैत ११ गते) सम्म आवेदन दिनसक्ने समयसीमा तोकिएको छ। आवेदन फाराम बुझाउन पहिलो दिन आइतबार देशभरका जिल्ला प्रहरी कार्यालयअघि ठूलो संख्यामा युवा जम्मा भए।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीका अनुसार धेरैजसो जिल्लामा साँझ ६ बजेसम्म पनि आवेदन फाराम बुझाउने युवा लाममा थिए। ‘पहिलो दिन नै फाराम बुझाउन आउनेको ठुलो भिड देखियो।

कार्यालय समयभित्र आवेदन लिन भनेका थियौं,’ उनले भने, ‘तर युवाको चाप र मर्कालाई हेरेर लाममा लागेका सबैको आवेदन बुझ्न निर्देशन दियौं।’ बिहान १० बजेबाट प्रहरीले आवेदन लिन सुरु गरेको थियो। धेरैजसो जिल्लामा बिहान आठ बजेदेखि नै बेरोजगार युवा म्यादी प्रहरी बन्ने लालसामा लाममा बसेका थिए। तराई–मधेसका जिल्लामा चर्को गर्मीमा पनि युवाले भोकभोकै घण्टौं लाम बसेर आवेदन बुझाएका छन्।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी केसीका अनुसार पहिलो दिन ३० हजार भन्दा बढीले आवेदन दिएका छन्। ‘यकिन तथ्यांक आइसकेको छैन। काठमाडौंमा मात्रै १२ सय बढीले आवेदन दिएका छन,’ उनले भने, ‘सरसर्ती हेर्दा सबै जिल्ला गरी ३० हजारभन्दा बढी आवेदन परेको प्रारम्भिक आकडा छ।’

सरकारले म्यादी प्रहरीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा पहिला काम गरेका, पूर्ववन रक्षक, विदेशस्थित सुरक्षा निकायबाट आवकाशप्राप्त, अघिल्ला निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भएका र २०७८ साउनदेखि सुरक्षा निकायमा भर्ना आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकालाई प्राथमिकता दिइने जनाएको छ।

‘काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रहरी परिसरमा लागेको भिडमा युवा नै बढी देखिए,’ महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सन्तोषसिंह राठौरले भने, ‘बेरोजगारीकै कारण देखिएको हो यो भिड। विगतमा भर्ना छनोटमा पनि यस्तै भीड देखिएको थियो।’

४० दिने म्यादी प्रहरीका लागि आवेदन बुझाए पनि छनोट हुने ग्यारेन्टी हुँदैन् तर त्यसका लागि सदरमुकाम आउँदाजाँदा कम्तीमा आठदस हजार रूपैयाँ खर्च हुन्छ। ‘म्यादीमा भर्ना हुन पनि नेताको भनसुन चाहिन्छ,’ अघिल्ला चुनावमा म्यादी प्रहरीमा काम गरेका डोटी बोगटानका कृत नेपाली भन्छन्, ‘आफ्नै बलबुताले त म्यादी प्रहरी हुन पनि सम्भव हुँदैन्।’ यसपटक पनि भर्नाका लागि आवेदन दिने तयारीमा रहेका उनले प्रक्रियाम सहभागी जनाउन नै १५/१६ हजार खर्च हुने बताए। ‘गाउँबाट सिलगढी पुग्नै हजार रूपैयाँ लाग्छ। १५/१६ दिन होटलमा बस्नुपर्छ,’ उनले भने। खर्च गरेर प्रक्रियामा सहभागी भए पनि छनोट हुन नसके उल्टै ऋणमा डुबिने उनले बताए। यसपटक चैत ११ सम्म भर्ना लिने र छनोट प्रक्रिया १५ गते बाट सुरु हुनेछ।

चैत २२ मा नतिजा प्रकाशन गरी २८ बाट प्रशिक्षण सुरु हुनेछ। छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने सरकारको तयारी छ। छनोट भएकाले ४० दिन काम गर्नुपर्नेछ। छनोट भएकाले दैनिक ७ सय ५६ रूपैयाँका दरले ४० दिनको ३० हजार दुईसय ४० पारिश्रमिक पाउनेछन्।

यसबाहेक उनीहरू थप ७ हजार रासनवापत पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ। त्यस्तै उनीहरूले लुगाभत्तावाफत एकमुस्ट ६ हजार रूपैयाँ पाउनेछन्। जुन रकम लुगामै खर्च हुनेछ। यस्तै म्यादीलाई गाडीभाडावापत एक हजार रूपैयाँ दिइन्छ। यस आधारमा म्यादी प्रहरीले ४० दिन काम गरेवापत जनही कुल ४४ हजार दुई सय ४० रूपैयाँ पाउँछन्।

बेरोजगारी समस्या

नेपाल श्रम सर्वेक्षण, २०१९ (सन्) अनुसार नेपालभित्रै रोजगारी खोज्ने युवामध्ये ५ प्रतिशतले मात्रै रोजगारी पाएको देखिन्छ। नेपालभित्र प्रत्येक वर्ष कम्तीमा १६ लाखदेखि २० लाख युवा जागीरको खोजीमा हुन्छन्। यो संख्यामध्ये ५ प्रतिशतले मात्र रोजगारी पाउने गरेको सर्भेक्षणले देखाएको छ। बाँकी कि देश छाड्ने कि कम तलब वा बेरोजगार भएर बस्ने गरेको सर्वेक्षणमा उल्लेख छ। अहिले म्यादी प्रहरीमा आवेदन दिन पनि तिनै बेरोजगार युवाको भिड लागेको हो।

केन्द्रीय तथ्यांक ब्युरोले सन् २०२१ मा जारी गरेको तथ्यांकअनुसार नेपालमा कुल ८६ लाख व्यक्तिले आफ्नो योग्यता र सीपअनुरूप रोजगारी पाइरहेका छैनन्।

प्रकाशित: ७ चैत्र २०७८ ००:२५ सोमबार

स्थानीय तह निर्वाचन