समाज

लेटाङमा भएको झडपमा महिला प्रहरी गम्भीर घाइते

लेटाङ नगरपालिका–५ खेरुवास्थित शिक्षा विकास मावि आइतबार तनावग्रस्त बनेको छ । विद्यालय तनावग्रस्त हुँदा स्थिति नियन्त्रण गर्न गएको प्रहरी र आन्दोलनकारीबीच झडपमा महिला प्रहरी गम्भीर घाइते भएकी छन् । उनको अवस्थाबारे राती अबेरसम्म  प्रहरीले पुष्टि गरेको छैन ।  

कक्षा– ६ मा अध्ययनरत महिला विद्यार्थीलाई ५६ वर्षीय शिक्षक मनोज पौडेलले दुव्र्यवहार गरेको भन्दै  विद्यार्थी, अभिभावक र स्थानीयले आन्दोलन गरेको थिए । विद्यार्थीलाई दुव्र्यवहार भएको घटना सार्वजनिक भएसँगै आक्रोशित गाउँलेले विद्यालय घेरेका थिए ।

लेटाङ नगरपालिकाका प्रमुख शंकर राईका अनुसार घटना भएपछि उग्रभएको र भीड नियन्त्रणका लागि सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको थियो । आक्रोशित भीडले शिक्षकलाई विद्यालय परिषरबाट बाहिर निकालेर कुटपिट गर्न खोजेपछि तनावग्रस्त बनेको उनले बताए ।  ‘आफू पनि साँझ पख मात्रै लेटाङ आइपुगेको र घटनाबारे थप कुरा बुझ्ने काम भइरहेको छ,’ राईले भने, ‘शिक्षकलाई कुटपिट गर्न खोजेपछि अवस्था नियन्त्रण बाहिर गएको हो । यहाँ एकपछि अर्काे घटना हुनुले चिन्ता बढाएको छ ।’  

विद्यालय तनावग्रस्त भएपछि प्रहरीको टोली सुरक्षाका लागि पुगेको थियो । नगरपालिकाका उपमेयर तथा सोही वडाका अध्यक्षसमेत घटनाबारे बुझ्न जाँदा आक्रोसित भीडले आक्रमणको प्रयास गरिएको बताइएको छ । एक स्थानीयका अनुसार आक्रोशित भीडले विद्यालयभित्रै लुकेर बसेका आरोपित शिक्षक पौडेललाई बेलुका प्रहरीले निकाल्ने क्रममा झडप भएको थियो ।  

झडपमा एक महिला प्रहरीको घाँटीमा काटिएको छ । स्थितीलाई नियन्त्रणमा लिनका लागि प्रहरीले हवाइफायरसमेत गरेको छ । त्यस क्रममा एक जना युवकलाई समेत गोली लागेको छ भने स्थिती हेर्दा प्रहरी र प्रहरी अधिकृतसमेत घाइते भएको एक स्थानीयले बताए । घटनाको आधिकारीक जानकारी प्रहरी प्रशासनले दिएको छैन । 

प्रकाशित: ६ चैत्र २०७८ १८:३४ आइतबार