आफूले हासिल गरेको सीप उपयोग गरे स्वउद्यमी बन्न ताप्लेजुङको फुङ्लिङका जनप्रतिनिधिले आग्रह गरेका छन्।
अपाङ्गता सीप तथा क्षमता विकास कार्यक्रम अन्र्तगत १ महिने खाँडी तथा ढाका बुनाइ तालिम समापनका अवसरमा आइतबार फुङ्लिङमा आयोजित कार्यक्रममा फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेलले सिकेको सीप उपयोग हुने गरी उद्यमी बन्ने अवस्थामा स्थानीय सरकारले बजारीकरणमा सघाउने उनले विश्वास लिए।
नगर उपप्रमुख बमबहादुर भट्टराई(तारा)ले सीप हासिल गरेको शक्तिको पलायन रोक्ने उपाय भनेकै उनीहरुलाइ उद्यम सृजनामा केन्द्रित गर्नु रहेको बताउँदै यस कार्यमा नगरपालिकाले सघाउने बताए। तालिमका प्रशिक्षक कौशिला देवानले सिकेको सीपको भरपूर उपयोग गर्न सहभागीहरुलाई आग्रह गरिन्।
गत फागुन १ गतेबाट सुरु भएको तालिम २९ गते पूरा भएको फुङ्लिङ नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख सीता गुरुङले जानकारी दिइन्। सहभागीलाई आइतबार नै प्रमाणपत्र वितरण गरिएको थियो।
प्रकाशित: ६ चैत्र २०७८ १२:३३ आइतबार