समाज

बालकको मृत्युपछि इटहरीमा तनावग्रस्त, दिनभर सडकमा शव राखेर प्रदर्शन

मृतक बालकको शव लिएर हस्पिटल अगाडि धर्नामा बसेका आफन्त। तस्बिरः अमर/नागरिक

बिरामी बालकको मृत्यु भएपछि मृतकका आफन्त र गाउँलेहरूले इटहरीको एपेक्स हस्पिटल तोडफोड गरेपछि बिहीबार तनावग्रस्त बन्यो। मृतकका आफन्त र गाउँलेहरुले बिहानै अस्पताल तोडफोड गर्दै दिनभर सडकमा शव राखेर प्रदर्शन गरेपछि इटहरी तनावग्रस्त बनेको हो।  

बुधबार साँझ ६ बजे इटहरी वडा वडा नं. २ का नविन शाहको चार वर्षे छोरा सन्दीप शाहलाई  फुड प्वाइजन भएकाले उपचारका  लागि एपेक्स हस्पिटलमा भर्ना  गरीएको थियो। चिकित्सकले राभतर उपचारपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान विहीबार बिहान १.३० बजे रेफर गरेको थियो। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएपछि चिकित्सकले मृत्यु भएको घोषणा गरेपछि आक्रोशित भएका आफन्त र गाउँलेहरुले विहानै ३ बजेतिर नै तोडफोड गरेर प्रदर्शन थालेका थिए।

बिरामी बालकको मृत्युपछि ढुंगामुढा प्रहार गरी तोडफोड गरीएको एपेक्स हस्पिटल।

‘बिरामी बच्चालाई सुईमार्फत ओभरडोज औषधि दिएर मृत्यु भएको हो,’ मृतक बालकका आफन्त अरविन्द साहले भने। उनले बिरामी बालकलाई पानी पनि खान नदिईकन सुईमार्फत ओभरडोजको औषधि लगाएर दुःखद घटना भएको जिकिर गरे। ‘बालकलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको घोषणा गरेलगतै सम्पूर्ण आफन्त अस्पताल आयौं, त्यतिखेर ठूलो संख्यामा प्रहरी हस्पिटल अगाडि राखिएको थियो,’ उनले भने, ‘हस्पिटलले लापरबाही गरेको अग्रिम जानकारी भएपछि केही हुन्छ कि भनेर पहिल्यै सर्तक भई हाल्यो। यस आधारमा पनि हस्पिटलका लापरबाही भएको छ।’

मृतक बालकलाई सुरुवातमा आफन्तले काखमा काखेर हस्पिटल अगाडि प्रदर्शन गरेपनि दिउँसोदेखि भने सडकमा बरफ राख्ने बाक्सा भित्र राखेर प्रदर्शन गरेका थिए। बालकको त्यसरी शव प्रदर्शन गर्दा आफन्तमा रुवावासी मच्चिएपछि गाउँलेहरुले हस्पिटल र प्रहरीविरूद्ध नाराबाजी गर्दा पुरै तनावग्रस्त बन्न पुगेको थियो। दिनभरको चर्को गर्मीले गर्दा मृतक बालककी आमासहित केही आफन्त बेहोस समेत हुन पुगेका थिए।  

इटहरीको पश्चिम चोक अर्थात प्रदेश नं. १ को ट्राफिक प्रहरी कार्यालय नजिकै भएको घटनाबाट कुनै अप्रिय घटना हुन नदिन प्रदर्शनकारीलाई सुरक्षाकर्मीले घेरा हालेर राखे।  

बिहानै सुरुवातमा तोडफोडसंगै भिडलाइ नियन्त्रण गर्ने क्रममा प्रदर्शनकारीको ढुंगा लागेर इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी जवान जिवन सरदार घाइते भएका छन्। सरदारको टाउकोमा चोट लागेको छ।  

ढुंगामुढा प्रहारबाट हस्पिटलको बाहिरी भागमा केही क्षति पुगेको छ। हस्पिटलको सम्पूर्ण सेवा ठप्प  छ।

मृतक बालकका आफन्त र गाउँलेहरुले विहान सुरुवातमा प्रर्दशन गर्दा वार्ता गर्ने सहमतिमा केही बेर यातायात सुचारु भएपनि दिउँसोदेखि फेरि सडकमै शव राखेर प्रदर्शन गरीयो। प्रहरी प्रशाासनले दुवै पक्ष राखेर वार्ता गर्न थुप्रैपटक प्रयास गर्दा पनि सम्भव नभएको जनायो।

आफन्त बेहोसः मृतक बालकको शव सडकमा प्रदर्शन गर्दै। त्यही क्रममा बेहोस भएका आफन्तलाई सम्हाल्दै गाउँलेहरु।

‘मृतकका आफन्तले क्षतिपूर्तिको माग गरेका छन, हस्पिटल पक्ष छानबिन समिति गठन गरेर त्यसबाट आएको निश्कर्षका आधारमा जे हुन्छ त्यही गर्ने भनेर आ आफ्नो अडानमा राखेपछि वार्ता टुंगोा पुग्न सकेन,’ इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक केशवकुमार कट्वालले भने, ‘यति धेरै प्रयास गर्दा पनि कुनै निर्णय हुन सकेको छैन।’  मृतक बालकका आफन्तले पोष्टमार्टम गर्न पनि दिएका छैनन्। इटहरी वडा नं. २ का वडाध्यक्ष हर्कबहादुर मगरका अनुसार मृतक बालकका आफन्तलाई कानुनी ढंगले अगाडि बढ्न सुल्झाउँदा पनि त्यसमा तयार नहुँदा समस्या भइरहेको बताए।  

हस्पिटलका व्यवस्थापक नेत्र पन्तका अनुसार बिरामी बालकलाई केही दिन अघिदेखि अन्यत्र नै उपचार गरेर अन्तिममा एपेक्स ल्याएकोमा केही समय उपचार गरेर धरान रेफर गरेको बताए। ‘सरकारी स्तरको छानबिन समिति बनाएर हस्पिटलको कमजोरी भए त्यसमा कानुन अनुसार कारबाही भोग्न तयार छौं,’ उनले भने, ‘हाम्रो हस्पिटलमा बिरामी बालक ल्याउनुभन्दा अघि इटहरीकै केही क्लिनिकमा लगिएको रहेछ।’

प्रहरीले भने मृतक बालकका परिवारले हस्पिटलविरूद्ध उजुरी दिने तयारी गरेकाले अब कानुनी प्रक्रियाले घटना अगाडि बढाइने डिएसपी खगेन्द्रबहादुर खड्काले बताए।

प्रकाशित: ३ चैत्र २०७८ १३:३१ बिहीबार