समाज

ताप्लेजुङ अस्पताल फार्मेसी फाँटमा कार्यरत ४ जना कर्मचारी निलम्बनमा

स्वास्थ्य बीमा कार्यक्रम अन्र्तगत बीमा बोर्ड समेतलाइ आर्थिक भार पर्नेगरी चिकित्सकको पूर्जामाथि आफैं औषधि थप्ने कार्य गरेको आशंकामा ताप्लेजुङ जिल्ला अस्पताल व्यवस्थापन समितिले अस्पतालको फार्मेसी फाँटमा कार्यरत ४ जना कर्मचारीलाइ निलम्बन गर्ने निर्णय गरेको छ। यो निलम्बन छानबिन टोलीबाट प्रतिबेदन पेश भइ अर्को निर्णय नभएसम्मका लागि कायम हुने अस्पताल व्यवस्थापन समितिले जनाएको छ। 

तर निलम्बनका कोको परे भन्ने बारेमा केहि खुलाइएको छैन। बैठकले यो कार्यको छानबिनका लागि कार्यदल पनि गठन गरेको छ। यस्तो कार्यमा अस्पताल आफैंले सञ्चालन गरेको फार्मेसीमा कार्यरत केहि कर्मचारीको सम्भावित संलग्नताको आशंका गर्दै अस्पताल व्यवस्थापन समितिले सहायक प्रमुख जिल्ला अधिकारी यमबहादुर भट्टराईको संयाजकत्वमा ५ सदस्यीय छानबिन समितिले बनाएको हो। 

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनको अध्यक्षतामा बसेको बैठकले भट्टराईको संयोजकत्वमा अस्पतालका एम.डि.जि.पि डाक्टर दीपेन्द्र बोखिम,जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक राकेश यादव,कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल दुर्गा थापा र स्वास्थ्य कार्यालयका बिबेक थुलुङ सदस्य रहेको समिति गठन गरेको हो। 

प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार छानबिन समितिलाइ ७ गते भित्र छानबिन प्रकृया पूरा गरी प्रतिबेदन पेश गर्ने समयावधि दिइएको छ। अस्पताल व्यवस्थापन समितिले यो घटना जोडेर अस्पतालमा कार्यरत केहि चिकित्सक माथि ज्यान मार्ने धम्की आएको भन्दै सुरक्षा निकायबाट अस्पताल र कार्यरत चिकित्सकलाइ सुरक्षा प्रवन्ध मिलाउने निर्णय समेत गरेको छ।

प्रकाशित: २ चैत्र २०७८ १३:१० बुधबार