समाज

दोहोरो नागरिकता लिने पक्राउ

दोहोरो नागरिकता लिने एक जनालाई गोरखा प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ कोटेश्वर बस्ने २८ वर्षीया पूजा ढकाललाई प्रहरीले पक्राउ गरेको हो।  

उनले २०६७ मंसिर ८ गते जिल्ला प्रशासन कार्यालय कास्कीबाट पहिलो नागरिकता र २०६७ मंसिर २८ गते जिल्ला प्रशासन कार्यालय गोरखाबाट नागरिकता लिएको खुलेको छ। गोरखाबाट दोस्रो नागरिकता लिँदा गाईने सार्कीलाई बाबु देखाई पुजा गैरे सार्कीको नाममा अर्को नागरिकता लिएको भेटिएको प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए। ‘हामीले पक्राउ गरी अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान गरिरहेका छौँ’ उनले भने।  

पोखरा महानगरपालिका वडा नम्बर ६ बैदाम माईती भएकी उनले त्यहाँबाट उमेर नपुग्दै नागरिकता बनाएको र बिदेश जार्ने प्रयोजनका लागि उमेर पुगेको अर्को नागरिकता गोरखाबाट बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। ‘बैदेशिक प्रयोजनका लागि उमेर बढाएर नक्कली बाबु खडा गरेर नागरिकता गोरखाबाट बनाएको देखिन्छ’ उनले भने। 

नागरिकता दिने सचिवको खोजी भईरहेको र पक्राउ परेकी ढकाललाई ३ वर्ष कैद र अधिकतम २० हजार सम्म जरिवाना हुने प्रहरी उपरीक्षक केदार खनालले बताए। कानुनतः उनले पछि लिएको नागरिकता खारेज हुने जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ।

प्रकाशित: २ चैत्र २०७८ १२:०० बुधबार