समाज

'गाउँगाउँमा ज्येष्ठ नागरिक केन्द्र बनाऔं’

पोखरा वृद्धाश्रमको रजत जयन्तीको अवसरमा सम्मानितसँगै प्रमुख अतिथि। तस्बिरः सन्देश/नागरिक

गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले गाउँगाउँमा ज्येष्ठ नागरिक केन्द्र बनाउनुपर्ने बताएका छन्। 

पोखरा महानगरपालिका वडा नम्बर–१७ सीतापाइलास्थित पोखरा वृद्धाश्रम’को रजत जयन्ती विशेष कार्यक्रमको शुभारम्भ कार्यक्रममा बोल्दै उनले अबदेखि वृद्धाश्रमलाई ज्येष्ठ नागरिक केन्द्रका रुपमा परिणत गरेर त्यसलाई गाउँगाउँ र टोलटोलमा बनाउनुपर्ने बताएका हुन् ज्येष्ठ नागरिक केन्द्र र ज्येष्ठ नागरिक दीवा सेवा केन्द्र गाउँगाउँ र टोलटोलमा बनाउनुपर्छ’, उनले भने। ज्येष्ठ नागरिक समाजको महत्वपूर्ण सम्पती भएकाले उनीहरुको रेखदेख, हेरचाह र संरक्षण राज्यले गर्नुपर्ने उनले बताए। वृद्धाश्रम भन्दा नाक खुम्च्याउने गरेकाले यसको नाम परिवर्तन गरेर ज्येष्ठ नागरिक केन्द्र बनाउनुपर्नेसमेत उनले बताए।

ज्येष्ठ नागरिक बस्नका लागि एउटा आवासीय ज्येष्ठ नागरिक केन्द्र र अर्को ज्येष्ठ नागरिक दीवा सेवा केन्द्र बनाउनुपर्ने उनको भनाई थियो। जसको छोराछोरी छैनन्, दुःखी, असहायः र बेवारिसे छन् उनीहरु आवासीय ज्येष्ठ नागरिक केन्द्रमा बस्छन्, जसको छोराछोरी छन् तर दिउँसो हेर्ने मान्छे छैनन् उनीहरु ज्येष्ठ नागरिक दीवा सेवा केन्द्रमा बस्छन्’, उनले भने। उनले त्यस्तो ज्येष्ठ नागरिक केन्द्र वा दीवा सेवा केन्द्र घरबाट करीब २० मिनेट भन्दा कम दुरीमा हुनुपर्ने बताए।

मन्त्री श्रेष्ठले ज्येष्ठ नागरिक केन्द्र होस् वा दीवा सेवा केन्द्र दुबैमा स्वास्थ्य सेवा अनिवार्य हुनुपर्ने बताए। त्यसका लागि राज्यले सहयोग गर्नुपर्ने उनको भनाई थियो। उनले ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा निःशुल्क गर्ने राज्यको नीति अनुरुप गण्डकी सरकारले त्यसको व्यवस्था गरेको बताए। यदी कसैले त्यस्तो सेवा पाउनु भएको छैन, वा कुनै अस्पताल तथा स्वास्थ्य संस्थाले निःशुल्क सेवा नदिएको भए सरकारलाई जानकारी गराउनूस्। हामी कारवाही गर्छौं’,उनले भने।

राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष छत्रबहादुर प्रधानले सुरक्षित एवम् सम्मानित ज्येष्ठ नागरिक आजको आवश्यकता भएको बताए। उनले प्रत्येक घरमा वृद्धाश्रम हुनुपर्ने बताए। वृद्धवृद्धालाई छोराछोरीले नै हेर्नुपर्छ, बच्चा हुँदा बुबाआमाले छोराछोरी हेर्नुपर्छ भने बृद्धबृद्धा हुँदा छोराछोरीलेपनि हेर्नुपर्छ। त्यसका लागि ज्येष्ठ नागरिकमैत्री वृद्धाश्रम हरेक घरमा हुनुपर्छ’,उनले भने।

पोखरा बृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ख्याल गरी बृद्धाश्रममा जेरियाटिक वार्ड सञ्चालनमा ल्याइएका जानकारी दिए। नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले ज्येष्ठ नागरिक आश्रमहरूलाई जीवित भगवान भेट्ने तीर्थस्थलका रुपमा विकास गर्नुपर्नेमा जोड दिए।

२०५३ साल चैत १ गतेबाट सञ्चालनमा आएको पोखरा वृद्धाश्रमले २५औं वर्ष प्रवेश गरेको अवसरमा रजत जयन्ती मनाउन शुरु गरेको हो। रजत जयन्तीको शुभारम्भ समारोहमा स्थापना कालदेखि हालसम्म सहयोग गर्ने व्यक्ति तथा संघसंस्थाहरुलाई सम्मान गरिएको थियो। कार्यक्रममा वृद्धाश्रमका पूर्व अध्यक्ष टीकाबहादुर भण्डारीलाई दीर्घसेवा सम्मानबाट सम्मानित गरियो भने संस्थाका पूर्व अध्यक्ष स्व.वसन्तकेशव पराजुलीकी धर्मपत्नी टंककुमारी पराजुलीलाईपनि सम्मान गरिएको थियो।

सो अवसरमा वृद्धाश्रमलाई स्थापना कालदेखि हालसम्म सहयोग गर्नेहरुलाईपनि सम्मान गरिएको थियो । कार्यक्रममा विक्रम थकाली, गीता सुवेदी, सावित्री भण्डारीसहित करीब ५० जनालाई सम्मान गरिएको थियो। उनीहरुलाई गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका केन्द्रीय अध्यक्ष छत्रबहादुर प्रधान, पोखरा वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीलगायतले दोषल्ला, सम्मान पत्र र माला लगाएर सम्मान गरेका थिए।

रजत जयन्तीको अवसरमा वृद्धाश्रमले चैत महिनाभर विभिन्न कार्यक्रम गर्ने भएको छ। वृद्धाश्रमले रजत जयन्तीको अवसरमा ज्येष्ठ नागरिक दोहोरी गीत प्रतियोगिता, ज्येष्ठ नागरिक भजन चुड्का प्रतियोगिता, ज्येष्ठ नागरिक स्याहारकर्ता तालिमलगायतका कार्यक्रम गर्ने वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले जानकारी दिए।

प्रकाशित: १ चैत्र २०७८ १५:४४ मंगलबार