कमजोर फोहोर व्यवस्थापनका कारण दिन प्रतिदिन कोहलपुर कूरुप र दुर्गन्धित हुँदै आएको छ। कोहलपुर नगरपालिका र फोहोर संकलनका लागि जिम्मा पाएको जटायु रिसाइकलर्सका आआफ्नै अडानका कारण एक सातादेखि फोहोर उठ्न नसक्दा कोहलपुर कूरुप र दुर्गन्धित हुँदै आएको हो।
जटायुले बेलाबेला विभिन्न माग राख्दै आएको छ। फोहोर संकलनमा भएको सम्झौता त्रुटिपूर्ण र अपूर्ण भएकाले ति सबै माग सम्बोधन गर्न नसकिएको नगरले बताउँदै आएको छ। जसको प्रभावले सडकभरि यत्रतत्र फोहोर थुप्रिएको छ। एक सुन्दर सहरका रुपमा परिचित कोहलपुरको परिचय नै फेरिने गरी फोहोर थुप्रिरहेको हो।
केही साता अघिमात्र नगरपालिकाले सहमतिअनुसार भुक्तानी नदिएको भन्दै जटायुले फोहोर संकलन गर्न रोकेको थियो। रकम दिने मौखिक सहमति भएपछि पुनः जटायुले फोहोर उठाएको थियो। अहिले पुनः फोहोर बिसर्जनका लागि नगरले जग्गा नदिएको भन्दै जटायुले फोहोर संकलन गर्न छोडेको छ। सम्झौतापत्रमा फोहोर व्यवस्थापनका लागि नगरले जटायुलाई जग्गा उपलब्ध गराउने भन्ने उल्लेख छैन। तर, सम्झौतामै नभएको कुरा झिकेर जटायुले फोहोर उठाउन छाडेको नगरको भनाइ छ। पटकपटक नगर र जटायुबीचको द्वन्द्वको मार नागरिकले खेप्नु परेको छ। यसको विकल्प नगर र स्वयम् जटायुले नै निकाल्न सकेका छैनन्। यसअघि फोहोर व्यवस्थापन गर्दै आएको स्थानमा स्थानीयले अवरोध गरेपछि बजारबाट फोहोर उठाउन नसकिएको जटायुले जनाएको छ।
अहिले कोहलपुरको मुख्य बजार क्षेत्रमै फोहोरको डंगुर थुप्रिएपछि नगर नै दुर्गन्धित बन्दै जान थालेको छ। २०७७ असार २६ गते नगरको फोहोर व्यवस्थापनका लागि कोहलपुर नगरपालिकाले जटायु रिसाइकलर्ससँग सम्झौता गरेको थियो। जटायुले फोहोर फाल्दै आएको कोहलपुर–९ मा रहेको फोहोरमैला व्यवस्थापन केन्द्रमा फागुन १५ गते स्थानीयले तालाबन्दी गरेका थिए। उनीहरुले फोहोरको दुर्गन्ध गाउँसम्म आएको र गाउँमा धेरै हरिया माखा लागेकाले फोहोरमैला व्यवस्थापन केन्द्रमा तालाबन्दी गरेको बताइएको छ।
अहिलेसम्म पनि नगरपालिकाले फोहोर फाल्न अर्को स्थानको व्यवस्था नगरेकोले बजार क्षेत्रबाट फोहोर उठाउने काम बन्द गरिएको जटायु रिसाइकलर्सले जनाएको छ। बसपार्क, पीपलचौतारा, साझा चोकलगायतका स्थानमा फोहोरको थुप्रो दैनिकरुपमा बढिरहेको छ। स्थानीयले भने उत्पादित फोहोरलाई सडक किनारामा ल्याएर फाल्ने गरेका छन्। सडकमै फोहोरको डंगुर थुप्रिँदा नगर कूरुप मात्रै नभएर पैदलयात्री र व्यवसायी मारमा परेका छन्। साझा चोकमा भेटिएका हरि खड्काले सडकमै थुप्रो लागेको फोहोरबाट फैलिएको दुर्गन्धले हिँड्न र केहीबेर सार्वजनिक सवारी कुर्नसमेत समस्या भएको बताए।
‘सडकभरि थुपारिएको फोहोरलाई छाडा पशु चौपायाले सडकभरि छरेका छन्’, उनले भने, ‘जताततै फोहोरको त कुरै छोडौं। एकछिन गाडी कुर्नसमेत नसकिने गरी गन्ध आउँछ।’ तत्काल कोहलपुर बजारमा जताततै थुपारिएको फोहोर कोहलपुर नगरपालिकाले व्यवस्थापन गर्नुपर्ने उनी बताउँछन्। तीन प्रदेशको प्रवेशद्वारको रुपमा समेत रहेको कोहलपुरमा फोहोरले कूरुप र सौन्दर्यलाई बिगारेपछि स्थानीयसमेत आक्रोशित छन्। उनीहरुले सामाजिक सञ्जालमार्फत कोहलपुर नगरपालिकाको अर्को आलोचना गरेका छन्।
फेसबुकमा पर्शुराम लामिछानेले फोहोरको फोटो राख्दै लेखेका छन्, ‘भित्रको फोहोर बाटोमा थुपारेर राख्ने व्यापारी र घरबेटी एक हप्तासम्म फोहोर उठाउन नआउने नगरपालिकाले गर्दा हिजो गर्वका साथ भनिने हाम्रो कोहलपुर, सुन्दर कोहलपुर यो दृश्यले कोहलपुरलाई गिज्याइरहेको छ।’
कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतले आफूलाई बजारमा फोहोर जम्मा गर्ने रहर नभएको बताए। ‘बजारमा फोहोर राख्ने इच्छा कसलाई पो हुन्छ र। काम गर्दै जाँदा समस्या आयो’, उनले भने, ‘पहिले फाल्दै आएको स्थानमा अहिले अवरोध आएका कारणले फोहोर नउठेको हो। समस्या समाधानको लागि कुरा भइरहेको छ।’ सामुदायिक वन क्षेत्रबाहेक अन्य स्थानमा फोहोर व्यवस्थापनको लागि ठाउँ नभएको नगर प्रमुख रावतले बताए।
प्रकाशित: २८ फाल्गुन २०७८ १३:५३ शनिबार