समाज

घाँटी रेटेर महिलाको हत्या गर्ने दुईजना पक्राउ

घाँटी रेटेर महिलाको हत्या गरेको आरोपमा प्रहरीले बिहीबार दुईजनालाई पक्राउ गरेको छ। फागुन २३ गते चाँगुनारायण नगरपालिका ७ बागरेस्थित तरकारी खेती बारीमा रहेको टिनको कच्ची टहराभित्र घाँटी रेटी हत्या भएको महिलाको शव फेला परेको थियो।

घटनाको सम्बन्धमा अनुसन्धान गर्दै जाँदा उनीहरु दुई जना पक्राउ परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका २ भकुण्डेवेशी स्थायी घर भई हाल भक्तपुर, भक्तपुर नगरपालिका १० थलाछे बस्ने वर्ष ४४ का रमेश भन्ने कुमार लामा र काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका ४ चौवास स्थायी घर भई हाल भक्तपुर नगरपालिका महेश्वरी बस्ने वर्ष ३८ का नवराज रिजाल रहेको प्रहरीले जनाएको छ।

मृतक महिला काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका ९ नवलडाँडा स्थायी भई हाल भक्तपुर नागपोखरी बस्दै आएकी वर्ष २८ की जेनिशा नगरकोटी रहेको प्रहरीले जनाएको छ। सो घटनामा मृतकको चक्कुले घाँटी रेटी हत्या गरेको अनुसन्धानबाट देखिएकोमा संलग्न व्यक्तिहरुलाई खोजतलास गरी पक्राउ गरेको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए।

खोजी गर्दै जाने क्रममा उनीहरुलाई नियन्त्रणमा लिई बिहीबार ज्यान सम्बन्धी कसुरमा भक्तपुर जिल्ला अदालतबाट कर्तब्य ज्यान मुद्दामा ७ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको उनले बताए।

प्रकाशित: २६ फाल्गुन २०७८ १२:५७ बिहीबार