समाज

शिक्षकलाई कालोमोसो दलेको अभियोगमा विद्यार्थी नेता पक्राउ

खोटाङका शिक्षकलाई कालोमोसो दल्दै जुत्ताको माला लगाएर अपमान गरेको आरोपमा मोहन वैद्य (किरण) नेतृत्वको नेकपा (एकीकृत) निकट एक विद्यार्थी नेता पक्राउ परेका छन्। जिल्लाको खोटेहाङ गाउँपालिका ६ इन्द्रेणीपोखरी नरहास्थित पञ्चकन्या प्राथपिक विद्यालयका शिक्षकमाथि दुर्व्यवहार गरेको आरोपमा विद्यार्थी नेता पावेल राई पक्राउ परेका हुन्।

नेकपा क्रान्तिकारीनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का प्रदेश १ सदस्यसमेत रहेका विद्यार्थी नेता पावेल बिहीबार पक्राउ परेका हुन्। उनले विद्यालयका पूर्व प्रधानाध्यापकसमेत रहेका ताकमान राईलाई बुधबार कालोमासो दल्दै जुत्ताको माला लगाएर अपमान गरेका थिए। शिक्षक राईलाई लामो समयदेखि नियमित विद्यालय उपस्थित नहुने, विद्यालय आउँदा पनि मादक पदार्थ सेवन गरेर आउने तथा पढाउन जाँदा कक्षामै सुत्ने गरेको आरोप छ।  

सोही आरोपमा विद्यार्थी नेता राईको अगुवाईमा अनेरास्ववियु (क्रान्तिकारी)ले शिक्षक राईलाई सार्वजनिकस्थलमै कालोमोसो दलेर जुत्ताको माला लगाइदिएको थियो। शिक्षकलाई दुर्व्यवहार गरेपछि फरार रहेका राईलाई इलाका प्रहरी कार्यालय खोटाङ बजारले नियन्त्रणमा लिएको जनाइएको छ।  

जिल्ला प्रहरी कार्यालय खोटाङले जनाए अनुसार विगत ८ वर्षदेखि शिक्षक राई प्रअको भूमिका निभाउँदै आएका राईलाई केही महिनाअघि मात्र हटाइएको थियो। प्रअबाट हटेपछि विद्यालय नियमित नआउने, आउँदा पनि मदिरा सेवन गरेर आउने तथा पठनपाठन नियमित नगर्ने गरेपछि अनेरास्वियुले कारबाहीस्वरुप कालोमोसो दलेर जुत्ताको माला लगाइदिएको जनाइएको छ।

यसैबीच घटनाबारे गहिरो अध्ययन गरी दोषीमाथि कारबाही हुनुपर्ने माग उठेको छ। राष्ट्रिय मानव अधिकार आयोगले शिक्षकजस्तो व्यक्तिमाथि भएको यस्तो दुर्व्यवहारप्रति दुःख व्यक्त गर्दै निश्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ। आयोगको प्रदेश नम्बर १ शाखा कार्यालय खोटाङले व्यक्तिको निजी जिन्दगी र मर्यादामाथि आँच पुग्नेखालको गतिबिधि गर्नु अन्याय भएको जनाएको छ।

कालोमोसो दल्ने तथा जुत्ताको माला लगाउने कार्य कानुनी शासन र मानव अधिकारको मर्मविपरित भएको भन्दै दोषीउपर कानुन बमोजिम कारबाही गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गरेको छ। आयोगले आगामी दिनमा त्यस्ता कार्य हुन नदिन पनि सबै पक्ष गम्भीर भएर लाग्नुपर्नेमा जोड दिएको छ।

प्रकाशित: २६ फाल्गुन २०७८ १०:२७ बिहीबार