समाज

ताकममा किशोरी सम्मेलन

म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा पालिकास्तरीय दोस्रो किशोरी सम्मेलन भएको छ। ११२औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा मङ्गलबार भएको सम्मेलनले बालविवाह नियन्त्रण, बालअधिकार संरक्षण र लैङ्गिक समानता कायम गर्न ११ बुँदे घोषणापत्र जारी गरेको छ।

गर्ल्स फस्ट फण्डको सहयोग, धवलागिरि गाउँपालिकाको समन्वय र सङ्गम म्याग्दीको आयोजनामा किशोरी सम्मेलन आयोजना गरिएको थियो। सम्मेलनले बालविवाह, यौनजन्य हिंसा न्यूनीकरण र महिनावारी स्वच्छता कायम गर्नेलगायत किशोरीहरूको शिक्षा, स्वास्थ्य र सुरक्षाका विषयमा घोषणापत्र जारी गरेको सङ्गमका अध्यक्ष दिपेन्द्र शर्माले बताए।

धवलागिरिको ताकम, मुना, मुदी र लुलाङको चार वटा वडाका ११ विद्यालयमा गठन भएका किशोरी सञ्जालका २८ प्रतिनिधिको सहभागिता थियो। किशोरीले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षासँग समस्याको पहिचान गरी समाधानका लागि सरोकारवालाको ध्यानाकर्षण गराउने विषयमा सम्मेलनमा छलफल भएको थियो।

किशोरावस्थामा विवाह गर्दा हुने असर तथा हानिबारे समुदायस्तरमा सचेतना फैलाउने, बीस वर्ष पुगेपछि मात्र विवाह गर्ने, बीस वर्षभन्दा कम उमेरमा विवाह हुन लागेको सूचना प्रहरी, जनप्रतिनिधिलाई जानकारी गराउने र कानुनी कारबाहीको दायरामा ल्याउन सघाउने घोषणापत्रमा उल्लेख छ।

सबै विद्यालयमा महिनावारी हुँदा प्रयोग गर्ने प्याड विसर्जनका लागि इन्सिलेटरको व्यवस्थापन गर्न माग गरेको सम्मेलनमा सहभागीहरूले महिनावारी हुँदा सफला र धोएको प्याड घाममा सुकाएर मात्र प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

बीस वर्ष नपुगी विवाह गर्ने जोडीहरूको गाउँठाउँमा मिलाउने गलत प्रवृत्तिको विरोध गर्ने र त्यस्तो हुन लागेको जानकारी पाएमा प्रहरीलाई सूचना दिने घोषणापत्रमा उल्लेख छ। किशोरीमाथि हुने यौन शोषण, हिंसा, बलात्कार अन्त्य, सुरक्षाको ग्यारेन्टी र त्यस्ता घटनामा संलग्नलाई कानुनी कारबाहीको माग गरेका छन्।

महिनावारीलाई प्राकृतिक प्रक्रियाका रूपमा लिन आग्रह गर्दै त्यो अवस्थामा अँध्यारो कोठामा थुन्ने, घरबाट बाहिर निस्कन नदिने, मिठोमसिनो खान नदिने अन्धविश्वास र रुढीवादीको भत्र्सना गर्दै महिनावारी भएको बेला किशोरीमैत्री वातावरण बनाउन आग्रह गरेका छन्।

बाँच्न, संरक्षण, विकास र सहभागिताको नैसर्गिक अधिकारको सहजरूपमा उपभोग गर्ने वातावरण बनाउन माग गरेका छन्। सम्मेलनमा सहभागीहरूले बालविवाह नियन्त्रणमा समुदायबाट सहयोग नपाएको, सामाजिक हिसाबले दबाब आउने गरेका, महिनावारीको समयमा विद्यालयमा उचित वातावरण नुहँदा घरमै बस्न बाध्य भएको, यौन दुव्र्यवहार भएको, महिला र पुरुषको समान ज्याला कायम नभएको बताएका थिए।

किशोरी सञ्जालमार्फत विद्यालय र समुदायस्तरमा सचेतनामूलक कार्यक्रमका साथै बालविवाह हुन लागेको सूचना जनप्रतिनिधि र प्रहरीलाई गराएको बताएका थिए। सम्मेलनको अवसरमा बालविवाह न्यूनीकरणमा योगदान गर्ने एक विद्यालय, एक किशोरी समूह र दुई किशोरीलाई पुरस्कृत गरिएको थियो।

उत्कृष्ट बनेको लमसुङ माविलाई रु १० हजार बराबरको स्पिकर र हेम माविको सक्रिय किशोरी समूहलाई रु १० हजार नगद प्रदान गरिएको थियो। किसानी मावि धारापानीको सञ्जालकी सचिव देविका विक र वुद्धिविकास माविको किशोरी सञ्जालका अध्यक्ष अमृता रसाइलीलाई उत्कृष्ट किशोरीको रूपमा रु पाँचपाँच हजार नगद प्रदान गरिएको थियो।

कार्यक्रममा धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले संवैधानिक अधिकारको प्रयोग गर्न महिला सक्षम भएर अग्रसर बन्नुपर्ने बताए। गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बालविवाह न्यूनीकरणका लागि सङ्गमसँग सहकार्य गरेर उमेर सान्दर्भिक विवाहसँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरिएको बताए।

सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले कानुनले अपराध मानेको बालविवाहको एक कारण गलत संस्कृति भएको बताए। बालविवाहले महिलाको शिक्षा, स्वास्थ्य, सामाजिक लगायत धेरै क्षेत्रमा असर गरेको बताए। सङ्गम म्याग्दीका सहजकर्ता भरत केसीले धवलागिरि गाउँपालिकामा बालविवाहको अवस्थाका साथै कारण, असर र कानुनी व्यवस्थाको बारेमा जानकारी गराएका थिए। ताकम प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक यामबहादुर थापाले गरिबी, पारिवारिक समस्या, सामाजिक सञ्जाल र मोबाइलको दुरुपयोग बालविवाहको कारण भएको बताए।

प्रकाशित: २५ फाल्गुन २०७८ ०४:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App