समाज

नेपालदेखि कोरियासम्म –भिसा मिलाइदिने भन्दै ठगी

रोजगारीका लागि आकर्षक गन्तव्यमुलुक दक्षिण कोरियाको लागि भिसा मिलाइदिने भन्दै ठगीका घटनाहरू सार्वजनिक हुन् थालेका छन्।

सन् २०१९ को डिसेम्बरदेखि चिनको वुहाम प्रान्तबाट फैलिएको कोरोना भाइरसले विश्वव्यापी रूपमा महामारीको रूप लिन थालेपछि दक्षिण कोरियाले पनि सन् २०२० को मार्चदेखि विदेशबाट कामदार आपूर्तिमा रोक लगाएको थियो। यो २ वर्षको अवधिमा छिटफुट रूपमा इपिएस कामदार भित्रिए पनि अन्य भिसाहरू भने सहज बनिसकेको छैन।

यसैबीच कोरियाका लागि भाषा परीक्षा तथा अन्य प्रक्रियाहरू पूरा गरी तयारीमा बसेका हजारौं नेपाली युवा अझै कोरिया भित्रिन पाएका छैनन् भने कतिपयको रोस्टरबाटै नाम लिस्ट हटिसकेको छ।

लामो समयसम्म रोजगारीको  प्रतीक्षामा बसिरहँदा आफ्नो  नाम लिस्ट नै हटेपछि विक्षिप्त बनेका युवाहरू कोरिया प्रवेश गर्ने अन्य विकल्प खोजिरहेको मौका छोपी विभिन्न म्यानपावर तथा दलालहरूले पर्यटन तथा इ–सेभेन भिसा लगाइदिने भन्दै नेपाली युवाहरूबाट चर्को रकम असुली ठगी गर्न थालेका छन्। कोरियाले विदेशबाट आउने पर्यटक तथा कामदारका लागि भिसा नीति सहज  नबनाइसकेको अवस्थामा पनि कोरिया प्रवेश गराइदिने भन्दै १५ लाखसम्म मागेको पीडित युवाहरू बताउँछन्।

इपिएस पीडित रुपन्देहीका अर्जुन जिसीले काठमाडौंको एक म्यानपावरलाई आजभन्दा डेढ वर्ष पहिला ५ लाख रुपियाँ बुझाएका रहेछन्। १ महिनामा भिसा लाग्ने र बाँकी रकम १० लाख  भिसा आइसकेपछि बुझाउने सर्तमा बुझाएको रकम हालसम्म न त फिर्ता नै पाएका छन् न त कोरियाको भिसा नै लागेको छ। यो बिचमा आफू धेरै पटक काठमाडौं धाएको बताउने उनी भन्छन्, ‘कोरियाको चक्करमा समय र सम्पत्ति सबै गुमाइयो। अब प्रहरीमा उजुरी गर्नुको विकल्प रहेन।’

त्यसैगरी कोरियाको सियोलमा बस्ने एक नेपाली महिलाले आफ्नो नजिकको एकजना भाइलाई कोरिया बोलाउने चक्करमा नेपाली १० लाख डुबाएको बताउँछिन्। कोरियाको आइडी प्राप्त गरेकी रिना क्षेत्रीले एकजना कोरियन दलाललाई १ वर्ष पहिला १० लाख नेपाली रुपियाँ बुझाएकी रहेछन्। आजआज भोलिभोलि भन्दाभन्दै न त भिसा लगाइदिने न त पैसा  नै फिर्ता दिने गर्न थालेपछि आफू ठगिएको बुझेर कोरियन प्रहरीमा उजुरी गरेको बताइन्।

छोटो  कुराकानीमा क्षेत्रीले भनिन्, ‘नेपालीहरूहरूले त ठगी गर्छन् नै कोरियनले समेत यसरी  ठग्दा रहेछन्।’ उनले अब आफू प्रमाण सहित कानुनी लडाइमा जाने बताइन्।

त्यसैगरी चितवनका मनु परियारको व्यथा पनि उस्तै छ। कोरियामा पर्यटन भिसा लगाइदिन्छु भन्ने आश्वासन पाएपछि आफन्त मार्फत एकजना दलाललाई बुझाएको ३ लाख रुपियाँ २ वर्ष बितिसक्दा पनि फिर्ता नपाएको बताए।

यी त केही प्रतिनिधि पात्र हुन्। लामो समयदेखि कोरियाको रोजगारी कुर्दा विक्षिप्त बनेका युवाहरूलाई मौकाको फाइदा उठाउने ठेकेदारहरूको बिगबिगी बढेको छ। हाल मौसमी कामदारको रूपमा कोरिया पठाइदिन्छु, ५ लाख बुझाए १ महिनाभित्र कोरिया पुयाइदिने भन्दै ठगी गर्नेहरूको संख्या समेत बढेको एक नेपालीले बताए।

त्यसो त कोरियाले भने कोरोनाको कारण २ वर्षदेखि  रोकेका भिसाहरू अझै सहज बनाइसकेको छैन। छिटफुट रूपमा केही विद्यार्थी र कामदारहरू भित्रिए पनि अन्य तरिकाले कोरिया प्रवेश पाएका छैनन्।

यसरी कोरियाले भिसा नीति सहज नबनाइसकेको अवस्थामा पनि कोरिया प्रवेश गराइदिन्छु भन्दै पैसा असुल्ने दलालहरूबाट सजक हुनु जरुरी छ। अन्यथा कोरियाको चक्करमा ठुलो रकम फस्ने सम्भावना देखिन्छ।

प्रकाशित: २३ फाल्गुन २०७८ ०२:१९ सोमबार

इपिएस पीडित विभिन्न म्यानपावर तथा दलालहरू फैलिएको कोरोना भाइरस