समाज

प्रहरीको कुटाईबाट मृत्युपछि आफन्त आन्दोलित

वीरेन्द्रनगरस्थित एरिचौकमा आन्दोलन गर्दै आफन्तहरू। तस्विरः गोविन्द केसी/नागरिक

सुर्खेतमा प्रहरीको कुटाईबाट एक जनाको ज्यान गएपछि आफन्तहरूले घटनामा संलग्न प्रहरीहरूलाई कारवाही र परिवारलाई क्षतिपूर्तिको माग गर्दै एरीचौकबाट आन्दोलन सुरु गरेका छन्।

स्थानीय प्रशासन र प्रहरीले घटनाको बारेमा चासो नदिएको भन्दै उनीहरू आन्दोलित भएका हुन्। शुक्रवार राति नेपालगंजबाट सुर्खेत आउँदै गरेका कालिकोट तिलागुफा नगरपालिकाका ३४ वर्षीय मिनि (कृष्ण) हमाल प्रहरीको कुटाईबाट घाइते भएका थिए। घाइते हमालकाे शनिवार दिउँसो मृत्यु भएको थियो।

भे१क ९२२ नम्वरको गाडीमा सवार यात्री हमाललाई सुब्बाकुनामा रहेका प्रहरी चौकीका असई शेरसिंह धामीसहित अन्य प्रहरीले निर्घात कुटपिट गरि गम्भिर घाइते बनाएको आरोप आफन्तले लगाएका छन्।

प्रहरीको कुटाईबाट चालक र सहचालक पनि घाइते छन्। मदिरा खाएको विषयमा उनीहरू बिच विवाद हुँदा प्रहरीबाट कुटिएका थिए। चालक र सहचालकलाई असई लगायत अन्य प्रहरीले कुट्न थालेपछि कानुनी कारवाही गर्नुस् तर, नहान्नुस् भनेर गएका हमाललाई असईले अण्डकोष र पेटमा लात हानेका गाडी चालकहरुले प्रहरीलाई दिएको बयानमा उल्लेख छ।

हमाल कालिकोटका व्यापारी पनि हुन्। घटनामा संलग्न प्रहरी र अन्य मान्छेहरूसँग बयान दिइएकोले घटनाको सत्यतथ्य कुरा अनुसन्धानपछि बाहिर ल्याउने सुर्खेत प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले बताए। 

‘प्रहरीले तल्लो पेट र अण्डकोषमा चोट लागेको थियो।’ मृतक अंकल कलमबहादुर हमालले भने, गाडीको दुई जना स्टाफलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ।’ सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले आफन्तसँग वाता गरेर उहाँहरुको माग सम्बाेधन गरिने बताए। 

प्रकाशित: २१ फाल्गुन २०७८ ११:०९ शनिबार