समाज

चिसोले जेष्ठ नागरिकलाई भत्ता लिन सास्ती

भत्ता लिन गुरासँ गाउँपालिकास्थित बैंक बाहिर लाईनमा बसेका जेष्ठ नागरिकहरु। तस्बिरः गोविन्द/नागरिक

गुरासँ गाउँपालिका –५ गोगनपानीबाट एक घण्टा बढी हिडेर वृद्धा भत्ता लिन आएकी जेष्ठ नागरिक चित्रा चन्द भत्ता भन्दा पनि मुटु हल्निने चिसोले सास्ती खेप्नु परेको बताईन्। रानीमत्तास्थित प्रभु बैंकको शाखामा अँझ दिनभरीको लाईन झेल्नुपर्दा चित्रा मात्र होईन भत्ता लिन आएका जेष्ठ नागरिकहरु चिसोले थरथरि काम्ने गर्दछन्। 

लाईनमा बसेका जेष्ठ नागरिकहरु भत्ताभन्दा पनि चिसोले सताईरहेको गुनासो गरे। भत्ता वितरणमा सहज नहुँदा दिनभरजसो लाईनमा बस्दा उनहरुको स्वास्थ्य अवस्था विग्रने चिन्ता उत्तिकै हुने गरेको छ। चिसो महिनामा त झन हिउँपातले भत्ता लिन पालिकामा आउनै सक्दैनन्। ‘चिसोमा विहानै आएको अहिले १२ बजेसम्म लाईनमै छु।’ जेष्ठ नागरिक चित्रा चन्दले भनिन् ः लाईन लामो छ कति बेला पालो आउने हो थाहा छैन्।’

बैंकमा जादा कहिले के कहिले के मिलेन भनेर फर्किनुपरेको गोगनपानीकै पदमबहादुर विकले बताए। ‘ठिक्क पारेर वडाबाट पठाएको भए यहाँ झन्झट हुने थिएन।’ भत्ता लिन आएका विकले भने, अहिले निवेदन र अन्य कुराहरु अपुग भयो भनेर कर्मचारीले भनेपछि कसलाई भन्ने अन्यौलमा परे।’  सवारीसाधन नपाए बैंकमा भत्ता लिन एक दिन लाग्ने पालिकाका गाउँहरु पनि रहेको छ। रानीमत्ता निकै अग्लो भागमा रहेको चिसो हावा चल्ने र हिउँ पर्ने ठाउँ हो। गाउँपालिकाका केन्द्र पनि यहि छ।  

वडाविच्छे बैंकमा समय तालिका मिलाएपनि भत्ता वितरण हुँदा भिड् हुँदा र ईन्टरनेट लगायत प्राविधिक समस्याका कारण बेलाबेलामा काम ढिलाई हुने गरेको सेवाग्राहीले बताउँछन्। गुरासँ गाउँपालिका पश्चिममा कर्णाली नदिदेखी उत्तरमा सुर्खेत जाजरकोटसम्म जोडिएको छ। गाउँहरु निकै टाढासम्म रहेका कारण भत्ता बुझ्न बैंकमा अनिर्वाय स्वयम उपस्थित हुनुपर्ने भएकाले झन्झटिने भएको हो। वडाअध्यक्ष, सचिव र बैंक कर्मचारी वडामा पुगेर भत्ता दिने ब्यवस्थापन मिलाए जेष्ठ नागरिकहरुलाई सहज हुने स्थानीयहरु बताउँछन्। भत्ता लिन निकै दुःख जेष्ठनागरिकहरुले ब्यहोर्नु परेको गुरासँ गाउँपालिकाका अगुवा निराजन खत्रीले बताए।

प्रकाशित: १८ फाल्गुन २०७८ ०६:१० बुधबार